दाङ । सामाजिक अभियान, साहित्य, पत्रकारिता तथा विभिन्न संघसंस्थामार्फत विगत साढे दुई दशकदेखि घोराहीमा सक्रिय रहँदै आउनुभएका सबिन प्रियासन पछिल्लो समय दाङमा सिर्जना भएको ग्यास अभाव समाधान अभियानका कारण व्यापक चर्चामा आउनुभएको छ। आउँदो स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेसँगै उहाँको घोषणा सामाजिक सञ्जाल तथा विभिन्न समाचार माध्यममा भाइरल बनेको थियो।
हरेक सामाजिक गतिविधिमा सक्रिय रूपमा देखापर्ने प्रियासन पछिल्लो समय दाङवासीलाई लामो समयसम्म सास्ती दिएको खाना पकाउने ग्यास अभावको समस्या समाधान गर्न फिल्डमै उत्रिनुभयो। उहाँ घोराही बनाउँ अभियानका संयोजक समेत हुनुहुन्छ।
ग्यास अभावका कारण सर्वसाधारणले दुई–तीन दिनसम्म खाली सिलिन्डर बोकेर घाम, पानी र थकानको पर्वाह नगरी लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको थियो। ग्यास पाइन्छ कि पाइँदैन भन्ने अन्योलमा नागरिकहरू लामो समयसम्म प्रतीक्षामा बस्न बाध्य थिए। यही समस्यालाई व्यवस्थित गर्न घोराही बनाउँ अभियानको पहलमा सरोकारवाला निकायहरूसँग समन्वय गरिएको थियो।
अभियानको पहल र सम्बन्धित निकायबीचको समन्वयपछि जिल्ला प्रशासन कार्यालय दाङले भाद्र २ गतेदेखि ग्यास वितरणमा टोकन प्रणाली लागू गर्ने निर्णय गरेको थियो। टोकन प्रणाली लागू भएपछि प्रियासन स्वयं फिल्डमा उत्रिएर यसको प्रभावकारी कार्यान्वयन तथा घरघरमा ग्यास पुर्याउने अभियानमा सक्रिय हुनुभयो।
टोकन प्रणालीमार्फत वितरणलाई व्यवस्थित गर्दै उपभोक्ताको घरसम्म ग्यास पुर्याउने प्रयासले लामो लाइनमा बस्नुपर्ने बाध्यता क्रमशः कम भएको स्थानीयवासीको अनुभव छ। केही समयअघि ग्यासका लागि दिनौँसम्म लाइनमा बस्नुपरेको पीडा अहिले घरमै ग्यास प्राप्त हुन थालेपछि बिर्संदै गएको धेरै उपभोक्ताले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाइरहेका छन्।
ग्यास अभाव समाधान अभियानमा सक्रिय भूमिका खेलेपछि सामाजिक सञ्जालमा प्रियासनप्रतिको सम्बोधन पनि रोचक बन्न थालेको छ। कतिपयले उहाँलाई अहिले नै ‘मेयर’ भनेर सम्बोधन गर्न थालेका छन् भने कतिपयले आत्मीय रूपमा ‘ग्यास दाई’ समेत भन्न थालेका छन्।
ग्यास अभाव समाधानमा ‘नायक’कै रूपमा स्थापित भएको चर्चा बढेसँगै सामाजिक सञ्जालमा स्थानीय तहको निर्वाचनसम्बन्धी बहस पनि चर्किएको छ। विभिन्न दिग्गज तथा बुद्धिजीवी व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत प्रियासनलाई आगामी मेयर निर्वाचनमा ‘ग्यास’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिनुपर्ने सुझावसमेत दिएका छन्।
सामाजिक अभियानबाट सार्वजनिक समस्याको समाधानमा सक्रिय रूपमा लागेका प्रियासनको पछिल्लो सक्रियताले आगामी स्थानीय निर्वाचनको राजनीतिक बहसमा समेत नयाँ चर्चा थपेको छ।