दाङ । घोराही बजारका बिग्रिएका तथा सौन्दर्यकरण आवश्यक रहेका विभिन्न चोकमा रङ्गरोगनसँगै फूलका बिरुवा रोपिने भएको छ। घोराही बनाऔँ अभियान, पाठशाला एजुकेसन र सिद्धिविनायक ट्रेडर्सको सहकार्यमा चोक तथा सार्वजनिक स्थानलाई आकर्षक, स्वच्छ र हरियालीयुक्त बनाउने उद्देश्यले सौन्दर्यकरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन, पाठशाला एजुकेसनका सञ्चालक दीपक न्यौपाने र सिद्धिविनायक ट्रेडर्सका सञ्चालक दीपक गिरीको पहल तथा सहकार्यमा कार्यक्रम अघि बढाइएको हो।
कार्यक्रमअन्तर्गत प्राथमिकताका आधारमा सौन्दर्यकरण आवश्यक रहेका चोक छनोट गरी रङ्गरोगन गर्ने, विभिन्न प्रजातिका फूलका बिरुवा रोप्ने तथा हरियाली प्रवर्द्धन गर्ने काम गरिनेछ। आगामी दिनमा आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रमलाई बजारका अन्य क्षेत्रसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।
घोराहीलाई सुन्दर, स्वच्छ र व्यवस्थित बनाउन सरकारसँगै नागरिक, व्यवसायी, शैक्षिक संस्था तथा सामाजिक संघसंस्थाको समेत भूमिका महत्वपूर्ण हुने घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले बताउनुभयो।
“घोराहीलाई सुन्दर बनाउने जिम्मेवारी सरकारको मात्र होइन, यहाँका नागरिक, व्यवसायी, शैक्षिक संस्था र सामाजिक संघसंस्थाको पनि हो। बिग्रिएका चोकलाई रङ्गरोगन गर्ने, आकर्षक फूल रोप्ने र रोपिएका फूल तथा संरचनाको संरक्षण गर्ने अभियान आवश्यक छ,” उहाँले भन्नुभयो।
प्रियासनले सार्वजनिक स्थानको सौन्दर्यकरणले बजारको वातावरण आकर्षक बनाउनुका साथै नागरिकमा आफ्नो सहरप्रतिको अपनत्व र जिम्मेवारीसमेत बढाउने बताउनुभयो। साना–साना सामूहिक प्रयासले घोराहीलाई सफा, हराभरा र आकर्षक सहरका रूपमा विकास गर्न योगदान पुग्ने उहाँको भनाइ छ।
पाठशाला एजुकेसनका सञ्चालक दीपक न्यौपानेले शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक स्थानको संरक्षण तथा सौन्दर्यकरणमा सहकार्य गरिएको बताउनुभयो। उहाँले विद्यार्थी तथा युवालाई वातावरण र सार्वजनिक सम्पत्तिको संरक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, सिद्धिविनायक ट्रेडर्सका सञ्चालक दीपक गिरीले व्यवसायीले आफ्नो व्यवसायसँगै समाज र सहरप्रतिको जिम्मेवारी पनि बहन गर्नुपर्ने बताउनुभयो।
“घोराही हाम्रो साझा सहर हो। सहर सुन्दर र व्यवस्थित हुँदा नागरिक, व्यवसायी तथा आगन्तुक सबैलाई सकारात्मक अनुभूति हुन्छ। त्यसैले सौन्दर्यकरणसँगै यसको संरक्षणमा पनि सबैको सहभागिता आवश्यक छ,” गिरीले भन्नुभयो।
आयोजकहरूले सौन्दर्यकरण गरिएका स्थानको संरक्षण र निरन्तर व्यवस्थापनमा स्थानीय व्यवसायी, युवा, विद्यार्थी तथा आम नागरिकको सहभागिता आवश्यक रहेको बताएका छन्। सार्वजनिक स्थानलाई सुन्दर बनाउने कामसँगै त्यसको संरक्षणलाई पनि अभियानकै महत्वपूर्ण पक्षका रूपमा अघि बढाइने उनीहरूको भनाइ छ।