नेपालगञ्ज । रसुवा जिल्लामा आएको भीषण बाढीपछि सम्पर्कविहीन रहेका बाँकेका नागरिकको पहिचान गर्ने प्रयास थालिएको छ। बाढीमा बेपत्ता भएकाहरू लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि उनीहरूको पहिचान सुनिश्चित गर्न आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन सुरु गरिएको हो।
नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार बेपत्ता व्यक्तिका आफन्तबाट १६ जनाको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ। संकलित नमुना आवश्यक परीक्षणका लागि सोही दिन काठमाडौं पठाइएको अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अरविन शाक्यले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेसँगको समन्वयमा आफन्तबाट नमुना संकलन गर्ने प्रक्रिया अघि बढाइएको हो। बाढीपछि बेपत्ता व्यक्तिहरूको अवस्था अझै अज्ञात रहेकाले सम्भावित शव वा अवशेषको पहिचान गर्न डीएनए परीक्षणलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ।
बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार बाढीपछि लामो समयसम्म सम्पर्कविहीन रहेका व्यक्तिका आफन्तलाई आवश्यक प्रक्रिया पूरा गरी डीएनए परीक्षणका लागि नमुना दिन आग्रह गरिएको छ।
एसपी जिसीका अनुसार शनिबार नमुना दिन भेरी अस्पताल पुगेकाहरूमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ता व्यक्तिका आफन्तको संख्या बढी रहेको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेको विवरणअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बाँकेका २९ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये कोहलपुरका दुई जनाको शव फेला परिसकेको छ। बाँकी २७ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
बेपत्ता व्यक्तिहरूको खोजी तथा पहिचानका लागि सुरक्षा निकायले आफ्नोतर्फबाट प्रयास जारी राखेको छ। आफन्तबाट संकलन गरिएको डीएनए नमुनालाई सम्भावित शव तथा अवशेषसँग मिलान गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।
लामो समयदेखि आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदा परिवारहरू चिन्तित र पीडामा रहेका छन्। डीएनए परीक्षणबाट बेपत्ता व्यक्तिको वास्तविक पहिचान खुल्ने र परिवारलाई कम्तीमा आफ्ना आफन्तको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।