बाँकेमा हनी ट्रयाप, निर्माण व्यवसायीबाट २० लाख बढी असुलीको आरोप

ठेक्कापट्टाको क्रममा चिनजान, मायाजालमा फसाएर विभिन्न मुद्दामा फसाइदिने धम्की दिएको प्रहरीको दाबी


बाँके । बाँकेमा एक युवा निर्माण व्यवसायीलाई योजनाबद्ध रूपमा हनी ट्रयापमा पारेर विभिन्न मुद्दामा फसाइदिने धम्की दिँदै २० लाख रुपैयाँभन्दा बढी रकम तथा जिन्सी सामान असुलेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा बस्दै आएकी ३० वर्षीया सबिता श्रेष्ठ रहेकी छन्। उनलाई बाँके प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले असोज ५ गते पक्राउ गरेको हो।

बाँके प्रहरीले सोमबार घटना सार्वजनिक गर्दै श्रेष्ठले बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय निर्माण व्यवसायीलाई योजनाबद्ध रूपमा मायाजालमा फसाई अनुचित लाभ लिएको आरोप लगाएको छ।

प्रहरीका अनुसार ठेक्कापट्टाको काम गर्ने क्रममा निर्माण व्यवसायी र श्रेष्ठबीच चिनजान भएको थियो। चिनजानपछि श्रेष्ठले योजनाबद्ध रूपमा सम्बन्ध स्थापित गरी विभिन्न बहानामा रकम तथा जिन्सी सामान लिने र मागअनुसार रकम नदिए विभिन्न मुद्दामा फसाइदिने भन्दै डरत्रास देखाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठोरले बताए।

राठोरका अनुसार निर्माण व्यवसायीबाट पटक–पटक गरी नगद तथा जिन्सी सामान लिइएको र हालसम्मको अनुसन्धानमा त्यसको कुल मूल्य २० लाख रुपैयाँभन्दा बढी रहेको देखिएको छ।

घटनाबारे पीडित व्यवसायीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। बाँके प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले श्रेष्ठलाई पक्राउ गरेपछि उनलाई अनुसन्धानका लागि बाँके ल्याइएको हो।

हाल श्रेष्ठलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट समेत म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म श्रेष्ठविरुद्ध एक जनाको मात्रै औपचारिक जाहेरी परेको छ। तर, अर्का एक व्यक्तिले पनि आफू श्रेष्ठबाट पीडित भएको भन्दै प्रहरीलाई मौखिक रूपमा जानकारी गराएका छन्। उनलाई समेत बाँके आएर औपचारिक जाहेरी दिन प्रहरीले आग्रह गरेको डिएसपी राठोरले बताए।

घटनामा अन्य व्यक्ति पनि पीडित भएको हुनसक्ने भन्दै प्रहरीले त्यस्ता व्यक्तिलाई सम्पर्कमा आएर जानकारी तथा जाहेरी दिन आग्रह गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानपछि रकम असुलीको वास्तविक विवरण, घटनाको प्रकृति तथा यसमा अन्य व्यक्तिको संलग्नता भए–नभएकोबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

सांकेतिक तस्बिर । हनी ट्रयापसम्बन्धी घटनालाई प्रस्तुत गर्न AI मार्फत तयार गरिएको तस्बिर।

प्रतिक्रिया दिनुहोस