रक्तदानदेखि जनचेतनासम्म, विश्व फार्मेसिस्ट दिवसको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

दाङ । नेपाल फार्मेसी सङ्घ दाङ शाखाले विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न गरेको छ।

फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्घले जनाएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदानलगायत विभिन्न सामाजिक तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो।

सङ्घका अध्यक्ष श्यामकुमार गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो। समापन अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रियासनले औषधिको सुरक्षित, प्रभावकारी र तर्कसंगत प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताए। नागरिकलाई औषधिको सही प्रयोग, मात्रा, सम्भावित असर तथा सावधानीबारे उचित जानकारी दिन फार्मासिस्टको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

उनले फार्मेसी क्षेत्रलाई औषधि वितरणमा मात्र सीमित गर्न नहुने भन्दै नागरिकको स्वास्थ्य सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि फार्मासिस्ट, चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

सङ्घका अनुसार दाङ शाखाले पहिलोपटक यस प्रकारको सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममार्फत फार्मासिस्टको पेशागत योगदानलाई समाजसम्म पुर्‍याउने तथा नागरिकलाई औषधिको सुरक्षित, प्रभावकारी र सही प्रयोगबारे सचेत गराउने लक्ष्य राखिएको थियो।

प्रतिक्रिया दिनुहोस