नरैनापुरमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रसँगै स्वास्थ्य सेवा

बाँके । नरैनापुर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। वल्र्ड भिजन र एसडिएफको सहयोगमा नरैनापुर गाउँपालिका–१, २ र ३ का सर्वसाधारणलाई लक्षित गरी शिविर आयोजना गरिएको हो।

गाउँमै अपाङ्गता परिचयपत्र उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट ४५ जना अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरेका छन्। वडा कार्यालय तथा गाउँपालिकासम्म पुगेर परिचयपत्र बनाउन कठिनाइ हुने व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गरिएको वल्र्ड भिजनका कार्यक्रम संयोजक विर्जेन्द्र यादवले जानकारी दिए।

“वडा कार्यालय र पालिकामा गएर परिचयपत्र बनाउन नसक्नेलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो,” यादवले भने।

शिविरमा १०५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरेको यादवले बताए।

स्वास्थ्य परीक्षणका क्रममा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि भेरी अस्पताल लगायत अन्य अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए।

यादवका अनुसार आगामी भदौ २५ गते बिहीबार नरैनापुर गाउँपालिका–५ मा पनि अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

वल्र्ड भिजन र एसडिएफले यसअघि पनि नरैनापुरका विभिन्न विद्यालयमा फर्निचर तथा शैक्षिक सामग्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस