बाढी–डुबानको जोखिम बढेपछि तटीय क्षेत्रमा माइकिङदेखि उद्धार टोली तयारी अवस्थामा
नेपालगञ्ज । लगातारको वर्षाका कारण बाँकेमा राप्ती नदी तथा विभिन्न खोला–नालाको जलसतह बढ्न थालेपछि बाढी र डुबानको जोखिम बढेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले तटीय क्षेत्रमा माइकिङसँगै निगरानी बढाएको छ भने उद्धार तथा प्रतिकार्यका लागि जनशक्ति र आवश्यक सामग्री तयारी अवस्थामा राखेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेका अनुसार मौसम पूर्वानुमान शाखाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने सूचना जारी गरेपछि जिल्लाका जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाइएको हो।
गण मातहतका युनिटहरूले बिहीबार दिनभर, रातिसमेत तथा शुक्रबार बिहानैदेखि तटीय क्षेत्रका बासिन्दालाई माइकिङमार्फत सचेत गराइरहेका छन्।
गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सम्भावित विपद्बाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको बताए।
उनका अनुसार बाढी, डुबान तथा अन्य विपद्को अवस्थामा तत्काल उद्धार तथा प्रतिकार्यमा परिचालन गर्न अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस कुण्डा, अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस कचनापुर, बीओपी गंगापुर, नम्बर ३० गण तथा रिजर्भ गण सम्शेरगन्जलगायतका स्थानमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ।
त्यसैगरी गण मातहतका अन्य युनिटमा समेत आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको चन्दले बताए।
सम्भावित जोखिमका समयमा स्थानीय तहका विपद् फोकल पर्सन, नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी तत्काल उद्धार तथा प्रतिकार्यमा परिचालन हुने व्यवस्था मिलाइएको उनले बताए।
सशस्त्र प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचनाप्रति सचेत रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित विपद्को अवस्था आएमा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।