‘घोराही बनाऔँ’को खबरदारीपछि जोखिमयुक्त खोलिगाउँमा पुग्यो उपमहानगर

घोराही । घोराही उपमहानगरपालिका–१४ स्थित कटुवा खोला तटको जोखिमयुक्त खोलिगाउँ बस्तीमा उपमहानगरपालिकाले स्थलगत निगरानी तथा सचेतना अभियान थालेको छ। घोराही बनाऔँ अभियानले बाढी तथा खोलाको कटानबाट बस्ती जोखिममा रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएपछि उपमहानगरपालिकाको टोली स्थलगत निरीक्षणमा पुगेको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछाडिको कटुवा खोला तटमा रहेको खोलिगाउँ क्षेत्रमा पछिल्लो समय बाढी तथा खोलाको कटानका कारण जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्दै आएका थिए। उक्त अवस्थाबारे घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासन, पत्रकार श्री चौधरी, सुदन थापालगायतले सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

समस्याबारे जानकारी पाएपछि घोराही उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख मदनकुमार ओलीसहितको टोली कटुवा खोला तटमा पुगेको हो। टोलीमा घोराही–१४ का वडा अध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक भान्सिङ बुढालगायत सहभागी थिए।

टोलीले खोलिगाउँ बस्तीको स्थलगत अवस्था अवलोकन गर्दै स्थानीयवासीलाई सम्भावित बाढी तथा खोलाको कटानबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा उपाय, जोखिम बढेमा सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था तथा आवश्यक पूर्वतयारीबारे समेत स्थानीयलाई जानकारी गराइएको उपमहानगरपालिकाले जनाएको छ।

यसैबीच, कटुवा खोला तटमा गरिएको तटबन्ध मर्मतपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन्। तटबन्ध मर्मतले खोलाको कटानबाट हुने जोखिम केही कम भएको स्थानीयको भनाइ छ। यद्यपि बाढी तथा कटानको जोखिम कायमै रहेकाले नियमित निगरानी र थप आवश्यक संरचनाको माग स्थानीयवासीले गरेका छन्।

सम्भावित विपद्लाई मध्यनजर गर्दै उपमहानगरपालिकाले आवश्यक प्रतिकार्यका लागि तयारी थालेको जनाएको छ। जोखिमयुक्त क्षेत्रको नियमित निगरानी, पूर्वसूचना, सुरक्षित स्थानको पहिचान तथा आवश्यक उद्धार तयारीलाई प्राथमिकतामा राखिने उपमहानगरपालिकाको भनाइ छ।

विपद् आउनुअघि नै जोखिम पहिचान गरी समुदायसम्म पुगेर सचेतना फैलाउने र आवश्यक तयारी गर्ने कार्यले स्थानीयस्तरमा विपद् व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने देखिन्छ। यसका लागि स्थानीय सरकार, वडा, सुरक्षा निकाय, सञ्चारमाध्यम र समुदायबीचको समन्वय आवश्यक रहनेछ।

प्रतिक्रिया दिनुहोस