त्रिभुवन नगर जेसिसद्वारा ४२ जनाको स्वास्थ्य परीक्षण

प्रमुख अतिथि सविन प्रियासनले भने– ‘असहाय र सहयोगापेक्षी नागरिकको स्वास्थ्य उपचारमा सबैले जिम्मेवारी लिनुपर्छ’

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० स्थित मानव सेवा आश्रममा मानसिक स्वास्थ्य तथा अर्थोपेडिकसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। त्रिभुवन नगर जेसिसको आयोजनामा सञ्चालित साताव्यापी स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा आश्रममा रहेका ४२ जना बुबाआमा तथा युवाहरूको स्वास्थ्य परीक्षण र उपचार गरिएको हो।

त्रिभुवन नगर जेसिसका अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो।

शिविरमा अर्थोपेडिक विशेषज्ञ डा. अरविन्द पोखरेल र मानसिक रोग विशेषज्ञ डा. सुबोध शर्मालगायतका स्वास्थ्यकर्मीले आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरेका थिए। त्यसैगरी, नेशनल प्याथ ल्याबका सागर योगीलगायतको टोलीले रक्तचाप, मधुमेह (सुगर) लगायतका स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सविन प्रियासनले मानव सेवा आश्रममा आश्रित नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताउनुभयो। उहाँले समाजमा रहेका असहाय, अशक्त, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका तथा सहयोगापेक्षी नागरिकको जीवन सहज बनाउन सबै पक्षले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै प्रियासनले आर्थिक अवस्था, पारिवारिक परिस्थिति वा अन्य कारणले कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने बताउनुभयो। विशेषगरी आश्रममा आश्रित व्यक्तिहरूको नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार र उचित हेरचाहमा सम्बन्धित सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

उहाँले सामाजिक संस्थाहरूले आयोजना गर्ने यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समाजमा मानवीय संवेदना, सहयोग र सेवाभाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्रिभुवन नगर जेसिसले स्वास्थ्य शिविरमार्फत समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

त्रिभुवन नगर जेसिसका अध्यक्ष मिनराज भाटले संस्थाले सञ्चालन गरिरहेको साताव्यापी स्वास्थ्य शिविरको मुख्य उद्देश्य विभिन्न क्षेत्र र समुदायका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु रहेको बताउनुभयो। समुदायको आवश्यकताअनुसार स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविरलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो।

मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मानसिक स्वास्थ्य र हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको उल्लेख गर्दै भाटले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा मानव सेवा आश्रमकी प्रमुख सुस्मिता श्रेष्ठले आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा उपचारका लागि शिविर आयोजना गरेकोमा त्रिभुवन नगर जेसिस र सहभागी स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आश्रममा रहेका व्यक्तिहरूको नियमित हेरचाह, उपचार र पुनःस्थापनाका लागि समाजका विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, जेसिसका रोशन दाहालले सामाजिक सेवाका गतिविधिमा युवाहरूको सहभागिता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक मिलन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको शिविरमा स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरूले आश्रममा आश्रित ४२ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र उपचार सेवा प्रदान गरेका थिए।

त्रिभुवन नगर जेसिसले साताव्यापी स्वास्थ्य शिविरअन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। मानव सेवा आश्रममा आयोजित यस शिविरले आश्रित नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुका साथै असहाय तथा सहयोगापेक्षी नागरिकप्रतिको सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावलाई थप बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस