दंगिशरणकै उत्कृष्ट बन्यो रामपुर स्वास्थ्य केन्द्र

दाङ । दंगिशरण गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वास्थ्य समीक्षा तथा मूल्याङ्कनमा रामपुर आधारभूत स्वास्थ्य सेवा केन्द्र उत्कृष्ट हुँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ।

गाउँपालिकाभित्र रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य केन्द्रतर्फ स्वास्थ्य सेवाका विभिन्न सूचक, सेवा प्रवाह तथा कार्यसम्पादनका आधारमा गरिएको मूल्याङ्कनमा रामपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रले सर्वोत्कृष्ट नतिजा हासिल गरेको हो।

प्रथम स्थान हासिल गरेसँगै रामपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ। स्वास्थ्य सेवाका विभिन्न सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै केन्द्रले यो उपलब्धि हासिल गरेको हो।

यसै अवसरमा रामपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत सिअहेव अधिकृत दामोदर शर्मा र सिअनमी निरीक्षक सुन्धरा शर्मालाई समेत कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै क्रमशः जेठ र चैत महिनाको ‘दंगिशरण हेल्थ हिरो’ को प्रमाणपत्रसहित सम्मान गरिएको छ।

उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीका रूपमा सम्मानित भएपछि रामपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रले यस सफलताको श्रेय आफूहरूलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण पक्षलाई दिएको छ।

केन्द्रले वडा नं. १ का महिला स्वास्थ्य स्वयंसेविका, वडाध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधि, दंगिशरण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा शाखाका सम्पूर्ण कर्मचारी, रामपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रका सम्पूर्ण कर्मचारी, गाउँपालिकाको सिङ्गो टिम तथा मन र वचनले सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ।

केन्द्रले प्राप्त गरेको यो सम्मानलाई आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाह गर्न थप जिम्मेवारी र प्रेरणाका रूपमा लिएको जनाएको छ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य केन्द्रतर्फ दंगिशरण गाउँपालिकामै प्रथम बन्न सफल रामपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रको यो उपलब्धिले स्थानीय स्वास्थ्य सेवाको क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस