दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्या सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट घोराहीमा ग्यासको मात्रा बढाएर पठाउन आग्रह गरिएको छ।
घोराही बनाऔँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको हो।
ग्यासको आपूर्ति अवस्था बुझ्न तथा घोराहीका व्यवसायीसँग भेटघाट र छलफलका लागि आउनुभएका प्रबन्धक यादवसँग भएको भेटमा घोराहीमा ग्यासको आपूर्ति, वितरण प्रणाली तथा उपभोक्ताले भोगिरहेका समस्याका विषयमा छलफल भएको थियो।
प्रबन्धक यादवले ग्यासको आपूर्ति सहज बनाउन उद्योगले निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउने प्रयास भइरहेको बताउनुभयो।
“ग्यासको अवस्था सहज बनाउन हामीले आफ्नो तर्फबाट निकै मेहनत गरिरहेका छौँ। अहिलेको अवस्थाभन्दा अझ सहज कसरी बनाउन सकिन्छ भन्ने विषयमा यहाँका व्यवसायीसँग पनि छलफल गरिरहेका छौँ,” यादवले भन्नुभयो, “उपभोक्ताले अनावश्यक दुःख नपाऊन् र चुलो निभ्न नदिन उद्योगको तर्फबाट सक्दो प्रयास भइरहेको छ।”
घोराहीमा ग्यासको माग उच्च रहेकाले आपूर्ति थप बढाउन आवश्यक रहेको संयोजक प्रियासनले बताउनुभयो। उहाँले उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने तथा अभावको सामना गर्नुपर्ने अवस्था अन्त्य गर्न उद्योग व्यवस्थापनसँग आग्रह गर्नुभयो।
“घोराहीका उपभोक्ताले ग्यासका लागि लामो समय लाइनमा बस्नुपर्ने र अभावको सामना गर्नुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो,” प्रियासनले भन्नुभयो, “भेरी ग्यासको आपूर्ति थप बढाएर पठाउन सकिए उपभोक्तालाई धेरै सहज हुनेछ। त्यसका लागि उद्योगले घोराहीको मागलाई प्राथमिकतामा राखेर आवश्यक मात्रामा ग्यास पठाइदिनुपर्छ।”
उहाँले ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति नियमित र पारदर्शी बनाउन उद्योग, डिलर, व्यवसायी, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
भेटघाट तथा छलफल दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवं भेरी ग्यासका डिलर कमल एण्ड सन्स, घोराही–१४ ढोडेनीका सञ्चालक नरेश कार्कीको समन्वयमा भएको हो।
कार्कीले पनि घोराहीमा ग्यासको मागअनुसार नियमित आपूर्ति कायम गर्न उद्योग र डिलरबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
भदौ महिनामा ग्यासको आपूर्ति व्यवस्थामा देखिएको समस्यालाई क्रमशः सहज बनाउँदै उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउने विषयमा भेटघाटका क्रममा विशेष छलफल भएको जनाइएको छ।