बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज, चरित्रहत्या तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राजनीतिक बहसलाई मर्यादित, तथ्यमा आधारित र जिम्मेवार बनाउन आग्रह गरेको छ।
भदौ १४ गते बसेको पार्टी सचिवालय बैठक तथा भदौ १७ गते बसेको बुलेटिन प्रकाशन समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले बाँकेले सामाजिक सञ्जालमा हुने व्यक्तिगत आक्रमण र अशिष्ट अभिव्यक्तिले राजनीतिक बहसको स्तर खस्काउँदै गएको जनाएको हो।
एमाले बाँकेले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा त्यससँग सम्बद्ध केही नेता–कार्यकर्ताबाट सामाजिक सञ्जालमा व्यक्त हुने अभद्र अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। यस्ता अभिव्यक्तिले सामाजिक वातावरणलाई संवेदनहीन र विकृत बनाउँदै लगेको पार्टीको आरोप छ।
पीडितले आफ्ना पीडा, गुनासा वा असन्तुष्टि सार्वजनिक गर्दा समेत सामाजिक सञ्जालमा गालीगलौज तथा व्यक्तिगत आक्रमण गर्ने प्रवृत्ति बढेको एमाले बाँकेको भनाइ छ।
राजनीतिक विचार फरक हुनु, सरकारको कामको आलोचना गर्नु वा कुनै दल तथा नेताको नीति र कार्यशैलीमाथि प्रश्न उठाउनु लोकतान्त्रिक व्यवस्थामा स्वाभाविक भएको उल्लेख गर्दै एमालेले आलोचनाका नाममा आमाको नाम जोडेर गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा व्यक्तिगत अपमानमा उत्रिने प्रवृत्ति स्वीकार्य नभएको जनाएको छ।
पार्टीका निर्णयबारे उपसचिव निर्मला सुनारले विज्ञप्ति वाचन गर्दै सामाजिक सञ्जाल विचार आदानप्रदानको महत्वपूर्ण लोकतान्त्रिक माध्यम भए पनि त्यसलाई घृणा, आक्रोश र प्रतिशोध फैलाउने माध्यम बनाउन नहुने बताइन्।
एमाले बाँकेले राजनीतिक असहमतिलाई गाली, धम्की वा व्यक्तिगत आक्रमणमार्फत नभई तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारमार्फत प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ। जनताले सरकार र राजनीतिक दललाई प्रश्न गर्ने अधिकारसँगै राजनीतिक नेतृत्वले पनि ती प्रश्नको जवाफ दिने संस्कार विकास गर्नुपर्ने पार्टीको धारणा छ।
सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी ठूलो संख्यामा उजुरी पर्ने गरेको उल्लेख गर्दै एमाले बाँकेले चरित्रहत्या, अशिष्ट अभिव्यक्ति तथा घृणा र द्वेष फैलाउने गतिविधिमाथि अनुसन्धान तथा कारबाही प्रभावकारी बनाउन नेपाल प्रहरीसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
पत्रकार सम्मेलनमा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने व्यक्तिहरूको स्क्रिनसट संकलन गरी पुस्तिका बनाएर घर–घर पठाउने चेतावनी दिएका छन्।
उनले त्यस्ता अभिव्यक्ति सार्वजनिक गर्दा सम्बन्धित व्यक्तिको राजनीतिक तथा सामाजिक स्तरबारे नागरिकलाई मूल्यांकन गर्न सहज हुने तर्क गरे।
गुरुङले सामाजिक सञ्जाल व्यक्तिगत आक्रमण र चरित्रहत्या गर्ने माध्यम नभई राजनीतिक विचार, असहमति र आलोचना प्रस्तुत गर्ने सभ्य माध्यम बन्नुपर्नेमा जोड दिए।
यसैबीच, एमाले बाँकेले भदौ १० गते रसुवामा आएको बाढी तथा पहिरोपछि उद्धार, व्यवस्थापन र राहत वितरणमा सरकार असफल भएको आरोप लगाएको छ।
घटनाको गम्भीरता समयमै बुझ्न नसक्दा ठूलो मानवीय क्षति भएको दाबी गर्दै एमाले बाँकेले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको हो। प्राकृतिक विपद्का बेला तत्काल उद्धार, राहत तथा व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकार गम्भीर हुनुपर्ने पार्टीको भनाइ छ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य सूर्य ढकाल, केन्द्रीय अनुशासन आयोगका सदस्य विजया धिताललगायत जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उपस्थिति थियो।