‘लाइफ’ होइन ‘लाइक’को पछि दौडियो सरकार : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन शाह नेतृत्वको सरकारमाथि तीव्र आलोचना गर्दै सरकार नागरिकको जीवन सुधारभन्दा सामाजिक सञ्जालमा लोकप्रियता (लाइक) बटुल्न केन्द्रित भएको आरोप लगाएका छन्।

सरकारका १०० दिनको समीक्षा गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकारको कार्यशैली परिणाममुखी देखिए पनि विधि, प्रक्रिया र कानुनी आधारलाई बेवास्ता गरिएको टिप्पणी गरे।

उनले भूमिहीन र सुकुम्बासीको समस्या कानुन बनाएर दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा त्यसो नगरी डोजर चलाएर सामाजिक सञ्जालमा चर्चा कमाउने प्रयास गरिएको आरोप लगाए।

‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ,’ थापाले भने, ‘भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक आउँदैनथ्यो, त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो।’

सरकार आफैंले सार्वजनिक गरेको ‘१०० कार्यसूची, १०० दिनका उपलब्धि’ का आधारमा आफूले मूल्याङ्कन गरेको उल्लेख गर्दै थापाले सरकारले विधि र प्रक्रियालाई गौण ठानेर तत्काल परिणाम देखाउने मानसिकतामा काम गरिरहेको बताए।

उनले विगतको नेकपा सरकारको शैलीसँग तुलना गर्दै भने, ‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ। यस्तो अभ्यास हामीले विगतमा पनि देखेका हौं।’

यद्यपि, थापाले प्रधानमन्त्री बालेन शाहको एउटा निर्णयको भने खुलेर प्रशंसा गरे। प्रधानमन्त्रीले बालुवाटारलाई राजनीतिक केन्द्र नबनाई सिंहदरबारबाटै सरकारी कामकाज सञ्चालन गरेको विषय सकारात्मक रहेको उनको भनाइ थियो।

उनका अनुसार प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद्का बैठकहरू सिंहदरबारबाट सञ्चालन गर्नु सुशासन र संस्थागत शासनको दृष्टिले राम्रो अभ्यास हो, जसलाई निरन्तरता दिनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस