काठमाडौं। राजनीति केवल पदको खेल होइन, संकटको समयमा को कति दृढ भएर उभिन्छ भन्ने पनि हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले यही प्रश्नको घेरामा छ। महामन्त्री चयनको प्रक्रियाले पार्टीभित्र आन्तरिक लोकतन्त्र, नेतृत्वको प्राथमिकता र अवसर वितरणबारे नयाँ बहस सुरु गरेको छ। त्यस बहसको केन्द्रमा छन्— मनिष झा।
रास्वपाका सभापति रवि लामिछाने कानुनी संकटमा परेका बेला पार्टीको बचाउ गर्दै सार्वजनिक मञ्चदेखि सञ्चारमाध्यमसम्म सबैभन्दा सक्रिय देखिएका नेतामध्ये मनिष झा अग्रपङ्क्तिमा थिए। प्रवक्ताको भूमिकामा उनले पार्टीको धारणा राखे, आलोचनाको जवाफ दिए र संगठनलाई सक्रिय राख्ने प्रयास गरे। तर अहिले नेतृत्व चयनको चरणमा आइपुग्दा उनी फेरि एकपटक ओझेलमा परेको अनुभूति धेरै कार्यकर्ताले गरेका छन्।
महामन्त्री पदका लागि सुरुमा धेरै नेताले उम्मेदवारी दिएका थिए। तर सभापति रवि लामिछानेले संस्थापक नेता विपिन आचार्यलाई सर्वसम्मत बनाउन चाहेको चर्चा चल्यो। त्यसपछि केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिए। तर मनिष झाले भने आफ्नो अडान परिवर्तन गरेनन्।
उनको तर्क स्पष्ट थियो— लोकतान्त्रिक पार्टीमा पद प्रतिनिधिको मतबाट तय हुनुपर्छ, पूर्वनिर्धारित सहमतिबाट होइन।
उम्मेदवारी फिर्ता लिनेहरूलाई उनले सार्वजनिक रूपमा नै कटाक्ष गर्दै भने, “हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने? यस्तो आलोकाँचो राजनीति गर्नुहुँदैन।” यो अभिव्यक्तिले उनको राजनीतिक शैली पनि देखायो— नेतृत्वसँग असहमत भए पनि आफ्नो विचार खुला रूपमा राख्ने।
मनिष झाको राजनीतिक यात्रा पनि सामान्य छैन। मधेशको प्रतिनिधित्व गर्दै उनले पार्टी विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। समानुपातिक सांसद बनेपछि प्रत्यक्ष निर्वाचनबाट पनि निर्वाचित भएर उनले आफ्नो जनाधार प्रमाणित गरेका छन्। नीति, संगठन र संसदीय बहसमा उनको सक्रियता पार्टीभित्र धेरैले स्वीकार्छन्।
यही कारण अहिले धेरै कार्यकर्ता एउटा प्रश्न गरिरहेका छन्— संकटमा भरोसा गरिने नेता अवसरमा किन पछाडि पारिन्छ?
रास्वपाले स्थापना कालदेखि नै नयाँ राजनीतिक संस्कृति, विधि र पारदर्शिताको नारा दिएको थियो। तर यदि नेतृत्वले कुनै एक व्यक्तिलाई अघि सार्न अन्य उम्मेदवारलाई पछि हट्न आग्रह गर्छ भने त्यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यासबारे प्रश्न उठ्नु स्वाभाविक हो।
मनिष झाले भने परिणामभन्दा प्रक्रियालाई प्राथमिकता दिएका छन्। उनले चुनावी प्रतिस्पर्धाबाट पछि नहट्ने निर्णय गरेर कम्तीमा एउटा सन्देश दिएका छन्— नेतृत्वले अवसर नदिए पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट पछि हट्नु हुँदैन।
महामन्त्रीको चुनाव कसले जित्छ भन्ने परिणामले मात्र होइन, त्यो प्रक्रियाले पनि रास्वपाको भविष्य निर्धारण गर्नेछ। यदि पार्टीले आन्तरिक प्रतिस्पर्धालाई सम्मान गर्न सक्यो भने नयाँ राजनीतिक संस्कारको दाबी बलियो हुनेछ। तर व्यक्तिकेन्द्रित निर्णयले निरन्तरता पाए, त्यसले पार्टीभित्र असन्तुष्टि बढाउने जोखिम पनि उत्तिकै छ।
मनिष झाको उम्मेदवारी अहिले केवल एउटा पदको प्रतिस्पर्धा होइन, रास्वपाले घोषणा गरेको आन्तरिक लोकतन्त्रको वास्तविक परीक्षा पनि बनेको छ।