ड्रागन खेतीले लेखिदियो हिमबहादुरको सफलताको नयाँ अध्याय

बर्दिया । कुनै समय राम्रो आम्दानीको आशामा माछापालन, कुखुरापालन, बाख्रापालन, तरकारी खेती र केरा खेतीमा पसिना बगाएका थिए हिमबहादुर पुन। तर मेहनतअनुसारको प्रतिफल नपाउँदा उनी निराश थिए। नयाँ सम्भावनाको खोजीमा रहेका बेला उनले ड्रागन फ्रुट खेती गर्ने निर्णय त गरे, तर सबैभन्दा ठूलो समस्या थियो—लगानी।

बैंकबाट ऋण लिएर खेती सुरु गर्ने योजना बनाएका उनले भारतीय सीमावर्ती क्षेत्रमा रहेको जग्गा धितो राख्न खोजे। तर कुनै पनि बैंकले ऋण दिन मानेन। सपना अधुरै हुने देखिएपछि उनले कठिन निर्णय गरे—आफ्नै तीन कठ्ठा जग्गा बेचेर खेतीमा लगानी गर्ने।

आज त्यही निर्णयले उनको जीवनको दिशा बदलिदिएको छ।

गुलरिया नगरपालिका–८ सुरजपुरका ४३ वर्षीय पुन अहिले बर्दियाका सफल व्यावसायिक ड्रागन किसानका रूपमा परिचित छन्। तीन वर्षअघि दुई कठ्ठाबाट सुरु गरेको खेती अहिले ६ कठ्ठामा विस्तार भएको छ। सिजनमा खेतभरि राताम्मे ड्रागन फ्रुट फलेपछि दैनिक रूपमा किसान, विद्यार्थी, कृषि क्षेत्रमा रुचि राख्ने व्यक्ति र अन्य अवलोकनकर्ताको घुइँचो लाग्ने गरेको छ।

“त्यतिबेला ऋण पाएको भए जग्गा बेच्नुपर्ने थिएन,” पुन भन्छन्, “तर अहिले फर्केर हेर्दा लाग्छ, त्यो निर्णय गलत थिएन। त्यही निर्णयले आज मलाई यो ठाउँमा पुर्‍याएको छ।”

पुनले ‘श्री मिलन कृषि फर्म’ दर्ता गरेर करिब एक दशकदेखि कृषि क्षेत्रमा काम गर्दै आएका छन्। उनले विभिन्न खेती र पशुपालन गरे पनि अपेक्षित आम्दानी हुन सकेन। त्यसपछि उनले ड्रागन फ्रुट खेती रोजे, जुन निर्णय आज उनको सफलताको आधार बनेको छ।

तीन वर्षअघि बाँकेबाट प्रतिविरुवा ३५० रुपैयाँका दरले एक हजार बिरुवा खरिद गरी उनले दुई कठ्ठा जमिनमा ड्रागन खेती सुरु गरेका थिए। सुरुमा पर्याप्त प्राविधिक ज्ञान नहुँदा पिलर सिस्टमबाट खेती गरे। पछि यो खेती २५ देखि ३० वर्षसम्म उत्पादन दिने भएकाले बलियो संरचना आवश्यक पर्ने अनुभव गरेपछि फलामे ट्रस्ट सिस्टम निर्माण गरेर थप चार कठ्ठामा खेती विस्तार गरेका छन्।

अहिले उनको बगैंचामा मलेसियन पिङ, मलेसियन ह्वाइट र इजरायल येलो गरी तीन प्रजातिका ड्रागन फ्रुट उत्पादन भइरहेका छन्।

पहिलो वर्ष दुई कठ्ठाबाट करिब पाँच क्विन्टल उत्पादन भयो। प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भए पनि ठूलो लगानीका कारण खर्च उठाउन मुस्किल भयो। तर उनले हिम्मत हारेनन्।

दोस्रो वर्ष उत्पादन बढेर करिब साढे १० क्विन्टल पुग्यो। अहिले तेस्रो वर्षको पहिलो लटमै साढे पाँच क्विन्टल उत्पादन भइसकेको छ। दोस्रो र तेस्रो लटको बिक्री जारी छ भने यस वर्ष १० देखि १२ लट उत्पादन भएर २५ देखि ३० क्विन्टलसम्म फल उत्पादन हुने उनको अनुमान छ।

उनका अनुसार ठूलो आकारका ड्रागन फ्रुट थोकमा प्रतिकिलो ४०० रुपैयाँ र साना फल ३५० रुपैयाँमा बर्दियाका विभिन्न बजार तथा बाँकेको कोहलपुरसम्म बिक्री हुने गरेका छन्। घरबाटै फुटकर बिक्री गर्दा भने प्रतिकिलो ५०० रुपैयाँसम्म मूल्य पाइन्छ।

फल बिक्रीसँगै उनले ड्रागनका बेर्ना उत्पादन गरेर पनि राम्रो आम्दानी गरिरहेका छन्। प्रतिवेर्ना २०० रुपैयाँका दरले बिक्री गर्दै आएका उनले गत आर्थिक वर्षमा मात्रै करिब १ लाख ५० हजार रुपैयाँ बराबरका बेर्ना बिक्री गरेका छन्।

पछिल्लो समय अन्य जिल्लाबाट ड्रागन फ्रुट बजारमा आउन थालेपछि मूल्यमा केही गिरावट आएको भए पनि यो खेतीको भविष्य उज्ज्वल रहेको पुनको विश्वास छ।

आज उनको खेत उत्पादन गर्ने ठाउँ मात्र होइन, सिक्ने थलो पनि बनेको छ। नयाँ किसानहरू खेती अवलोकन गर्न, प्रविधि बुझ्न र अनुभव सुन्न दिनहुँजसो पुग्ने गरेका छन्। उनी पनि आफ्ना अनुभव खुलेर बाँड्छन्।

“कृषिमा सम्भावना धेरै छ,” उनी भन्छन्, “तर किसानलाई लगानी, प्रविधि र बजारको सुनिश्चितता आवश्यक छ। सरकारले बिना ब्याज ऋण, कोल्ड स्टोर निर्माण, प्रशोधन उद्योग र निर्यातको वातावरण बनाइदिए धेरै युवाले स्वदेशमै भविष्य देख्न सक्छन्।”

भविष्यमा ड्रागन खेती अझ विस्तार गर्दै स्थानीय युवालाई रोजगारी दिने उनको योजना छ। आफ्नै ब्रान्डमा ड्रागनको जुस उत्पादन गर्ने र नेपाली ड्रागन फ्रुट विदेशसम्म पुर्‍याउने सपना पनि उनले देखेका छन्।

हिमबहादुर पुनको कथा एउटा किसानको मात्र कथा होइन, संघर्षलाई अवसरमा बदल्ने साहसको कथा हो। बैंकले साथ नदिए पनि आत्मविश्वास गुमाएनन्। आफ्नै जग्गा बेचेर रोपेका ती बिरुवाहरू आज सफलताको प्रतीक बनेका छन्। उनका खेतमा फलेका राताम्मे ड्रागन फ्रुटले एउटा सन्देश दिइरहेका छन्—मेहनत, धैर्य र दृढ संकल्प भए असम्भवजस्तो देखिने सपना पनि एक दिन फल्छ।

प्रतिक्रिया दिनुहोस