शिक्षा क्षेत्रमा कुमारी बैंकको साथ, बाकी बेटारपुरका विद्यार्थीलाई पोशाक वितरण

दाङ। कुमारी बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका–१ स्थित आधारभूत विद्यालय बाकी बेटारपुरका विद्यार्थीहरूलाई पोशाक तथा झोला वितरण गरेको छ।


कुमारी बैंक लुम्बिनी प्रदेशको आयोजनामा तथा कुमारी बैंक शाखा कार्यालय दंगीशरणको समन्वयमा बिहीबार आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई पोशाक तथा झोला वितरण गरिएको हो।


कार्यक्रमका प्रमुख अतिथि दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले निजी बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्नुका साथै सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।


गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले बैंक तथा वित्तीय संस्थाहरू सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय हुनु सराहनीय कार्य भएको बताउनुभयो। यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै अभिभावकलाई समेत राहत पुग्ने उहाँको भनाइ थियो।


त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष रमेश भण्डारीले वितरण गरिएको पोशाक र झोलाले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै शिक्षा क्षेत्रमा गरिएका यस्ता सहयोगात्मक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।


कार्यक्रममा बोल्दै कुमारी बैंक शाखा कार्यालय दंगीशरणका प्रमुख एकराज के.सी.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफूले अध्ययन गरेको विद्यालयका विपन्न विद्यार्थीहरूका लागि पोशाक तथा झोला वितरण गर्न पाउँदा विशेष गौरवको अनुभूति भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “जुन विद्यालयबाट मैले आफ्नो शैक्षिक यात्रा सुरु गरेको थिएँ, आज त्यही विद्यालयका विद्यार्थीहरूका लागि सहयोग गर्न पाउनु मेरा लागि अत्यन्त खुसी र गर्वको विषय हो। शिक्षा व्यक्तिको मात्र नभई समाजको समग्र विकासको आधार भएकाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीहरूको अध्ययनप्रतिको लगाव बढाउन र उनीहरूलाई थप उत्साहित बनाउन सानो भए पनि यो सहयोगले सकारात्मक भूमिका खेल्ने विश्वास लिएको छु।


उहाँले आगामी दिनहरूमा पनि आफ्नो समाज र समुदायका विद्यार्थीहरूको शैक्षिक विकास, क्षमता अभिवृद्धि तथा उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कुमारी बैंक लुम्बिनी प्रदेश प्रमुख सुदन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का तथा वडा नम्बर १ का वडा अध्यक्ष रमेश भण्डारीको विशेष आतिथ्यता रहेको थियो।
विद्यालयका शिक्षक प्रेम बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, बैंकका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस