सद्भाव जोगाउन नेपालगञ्ज एकजुट, शान्तिको सन्देशसहित बृहत् र्‍याली

नेपालगञ्ज : पूर्वी तराईमा भएको घटनापछि बाँकेको नेपालगञ्जमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम राख्ने उद्देश्यले शनिबार बृहद् सद्भाव र्‍याली निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा आयोजित र्‍यालीमा निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न धर्मका धर्मगुरु, नागरिक समाजका अगुवालगायतको सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्ष संयमित बन्नुपर्ने सन्देश दिएका थिए।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार पछिल्लो घटनाक्रमका बीच सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचारालाई थप सुदृढ बनाउन सबै पक्षले संयमता अपनाउनु आवश्यक छ। जिल्लामा शान्ति–सुरक्षा कायम राख्न प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा धार्मिक समुदायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको सन्देश दिन र्‍याली आयोजना गरिएको उनले बताए।

शनिबार बिहान ७:३० बजे स्थानीय बीपी चोकबाट सुरु भएको र्‍याली सुर्खेत रोड हुँदै धम्बोझी चोक पुगेपछि एक मिनेट मौनधारण गर्दै समापन गरिएको थियो।

र्‍यालीका क्रममा नेपालगञ्जका विभिन्न स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो। र्‍याली समापन भएको धम्बोझी चोकमा भने एक समूहले “मृतकलाई न्याय देऊ”, “घटनाको निष्पक्ष छानबिन गर” लगायतका प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेको थियो।

पूर्वी तराईको घटनापछि सम्भावित सामाजिक तथा साम्प्रदायिक असहिष्णुता फैलिन नदिन नेपालगञ्जमा आयोजित उक्त र्‍यालीलाई शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने अभियानका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस