काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खोल्ने कार्य तीव्र पारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुरुङभित्रको अवस्था पत्ता लगाउँदै सम्भावित उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा प्राविधिक टोली परिचालित छ।
सुरुङको भित्री भाग तथा पावर हाउस सुरक्षित रहेको हुनसक्ने र सुरुङभित्र फँसेका व्यक्तिहरू जीवित भेटिनसक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार कार्य अघि बढाइएको जनाइएको छ।
उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित विभिन्न प्राविधिक गरी ९३ जनाको टोली परिचालित छ। उद्धार कार्यमा पाँचवटा एक्स्क्याभेटर, कम्प्रेसर तथा ब्रेकर मेसिन प्रयोग भइरहेका छन्।
सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो फलामका भत्किएका संरचना तथा ठूला ढुंगा र अन्य डेब्रिस थुप्रिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। अवरोध पन्छाउँदै सुरुङको माथिल्लो भागबाट करिब तीन फिटको बाटो खोलिएको प्रधानमन्त्रीको सचिवालयको प्रेस नोटमा उल्लेख छ।
बाटो खुलेपछि उद्धारकर्मीहरू सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गरेका छन्। तर एक्स्क्याभेटर तथा अन्य ठूला मेसिन सुरुङभित्र लैजानका लागि मुखको बाँकी भागसमेत पूर्ण रूपमा खुलाउनुपर्ने भएकाले अवरोध हटाउने काम जारी छ।
सुरुङको मुखमा रहेका सातवटा ठूला बोल्डरलाई ब्लास्टिङमार्फत हटाउने तयारी अन्तिम चरणमा पुगेको उद्धार टोलीले जनाएको छ।
करिब १७० मिटर लामो सुरुङ अहिले माटो र लेदोले भरिएको छ। सुरुङ सफा गरी भित्रसम्म पहुँच स्थापित गरेपछि मात्रै पावर हाउससहितका मुख्य संरचनाको अवस्था तथा बाढीबाट भएको वास्तविक क्षतिको विवरण यकिन गर्न सकिने आयोजनाले जनाएको छ।
उद्धार टोलीले सुरुङभित्रको अवस्था पत्ता लगाउन अवरोध हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।