दाङ । २०८३ साल भदौ १० गते भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।
बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहकारीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ तथा सुरक्षित जीवनको कामना गरेको जनाएको छ।
विपद्को यस दुःखद् घडीमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सहकारीले आफ्नो हुन गइरहेको चौथो वार्षिक साधारणसभामा यातायात तथा खाजामा हुने खर्च रकम विपद् राहतका लागि उपलब्ध गराउने उदाहरणीय निर्णय गरेको हो।
संस्थाका सम्पूर्ण शेयर सदस्यहरूको तर्फबाट साधारणसभामा खर्च हुने २५ हजार २०० रुपैयाँ खर्च नगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा रहेको **‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’**मा जम्मा गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ।
उक्त निर्णय २०८३ साल भदौ १२ गते बसेको संस्थाको सञ्चालक समिति र लेखा समितिको संयुक्त बैठकले गरेको हो। विपद्मा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग गर्ने निर्णय गरिएको बताइएको छ।
राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विपद्मा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी र विभिन्न संघसंस्थासमेतलाई हार्दिक अनुरोध गरेको छ।