‘हरे कृष्ण’ जप्दै ९ दिन सुरुङभित्र बसे सञ्जय, बाहिर निस्किँदा सोधे– आज कति गते हो?

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट लामो समयपछि जीवितै उद्धार गरिएका सञ्जय साहले आफूले सुरुङभित्र बिताएका कठिन दिनबारे संक्षिप्त बयान दिएका छन्।

कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत साह बाढी तथा दुर्घटनापछि सुरुङभित्र फसेका थिए। उद्धारपछि अस्पताल लैजाने क्रममा नेपाली सेनाका अधिकारीसँग उनले घटनाको अवस्थाबारे जानकारी गराएका थिए।

साहका अनुसार दुर्घटनाका बेला आयोजनाभित्र सामान्य अवस्थाभन्दा धेरै मानिस कार्यरत थिए। दुर्घटना भएको थाहा पाएपछि उनले आफूभन्दा पहिले अरूको ज्यान जोगाउने प्रयास गरे।

‘ठूलो एक्सिडेन्ट भयो ड्याममा’ भन्दै उनले सबैलाई बाहिर निस्किन भने। अरूलाई बाहिर पठाउँदा आफ्नो समय बितेको र अन्तिममा आफू भने बाहिर निस्कन नसकेको उनले बताएका छन्।

उनले सुरुङभित्र आफूहरूसँग सम्पर्कमा रहेका केही व्यक्तिबारे मात्रै जानकारी रहेको बताए। पावर हाउसको भित्री भागमा अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंका उनले व्यक्त गरेका छन्।

साहले सुरुङ लामो भएकाले भित्रको अवस्था निकै कठिन हुनसक्ने बताएका छन्।

उद्धारपछि सेनाका अधिकारीले उनलाई लामो समयपछि जीवित बाहिर आउन सफल भएको भन्दै बधाइ दिएका थिए। त्यसक्रममा साहले बाहिरको समयबारे अनभिज्ञता जनाउँदै सोधे– ‘आज कति गते हो?’

अधिकारीले ‘१९ गते हो, तपाईं १० गते भित्र पस्नुभएको हो’ भनेपछि उनले दुर्घटनाको समय सम्झिए।

‘१० गते १० बजे एक्सिडेन्ट भा’थ्यो। हामी कन्ट्रोल रुममा टाइम नोट गर्छौँ,’ उनले भनेका थिए।

सुरुङभित्र रहँदा आफूहरू ईश्वरको नाम जप्दै बसेको उल्लेख गर्दै उनले अन्त्यमा भनेका थिए– ‘हामी महामन्त्र ईश्वर जप गर्दै थियौँ भित्र… हरे कृष्ण…।’

लामो समयपछि जीवित उद्धार भएका साहको यो बयानले दुर्घटनाको भयावह अवस्था र सुरुङभित्र फसेकाहरूले भोग्नुपरेको कठिन परिस्थितिलाई झल्काउँछ।

उनको बयान यस्तो छ:

मेरो नाम सञ्जय साह । म कन्ट्रोल रुममा अपरेटर काम गर्छु । अरू बेला त भित्र ४-५-६ जना मात्रै हुन्थ्यौं, त्यतिबेला चिहँ ४०-४५ जना नै थियौँ ।
म कन्ट्रोल रूममा भएकाले मेरो सबैको ज्यान बचाउनु मेरो जिम्मवारी थियो । त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो । मैले सबैलाई भनेँ- ठूलो एक्सिडेन्ट भयो ड्याममा । अनि सबैलाई भाग्न लगाएँ बाहिर । त्यसो गर्दाखेरि मेरो टाइम गयो र लास्टमा म निस्किनै पाइनँ । अनि म फसेँ ।
४०-५० जना काम गरेकालाई भगाइयो । हाम्रो सम्पर्कमा रहेका र साथीहरुसँग कुरा भएका ३-४ जना मात्रै थियौँ, नजिक छेउछाउ कुरा गर्ने, हल्ला गर्ने । भित्रपट्टि पावर हाउसमा पनि मान्छेहरु हुन सक्छ होला । सबै भाग्न नसकेको होला । टनेल लामो छ । टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसक्या होला ।
सेनाका अधिकारीले उनलाई ९ दिनपछि बाहिर निस्किनु भनेको दोस्रो जीवन पाउनुजस्तै हो भन्दै बधाइ दिए । त्यसपछि साहले सोधे- आज कति… १९ गते हो ?
*‘हो, १० गते छिरेको तपाईं’ भन्ने जवाफपछि उनले भने, ‘१० गते १० बजे एक्सिडेन्ट भा’थ्यो । हामी टाइम नोट गर्छौँ कन्ट्रोल रूममा । हामी महामन्त्र ईश्वर जप गर्दै थियौँ भित्र…। हरे कृष्ण… ।’

प्रतिक्रिया दिनुहोस