काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले पीडित नागरिकको आक्रोशलाई लिएर गालीगलौजमा उत्रिने प्रवृत्तिमाथि कडा आपत्ति जनाएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले पीडामा रहेका नागरिकले आफ्नो भावना अरूले चाहेजस्तो भाषा, व्यवहार वा शैलीमा व्यक्त गर्न नसक्ने बताएका छन्। उनका अनुसार पीडितको आक्रोशलाई अस्वाभाविक ठान्नुको सट्टा त्यसको पछाडिको पीडा बुझ्न आवश्यक छ।
‘पीडित आक्रोशित हुनु प्राकृतिक हो। हरेक मान्छेले आफ्नो पीडा अर्को कसैले चाहेकै भाषा, व्यवहार र तरिकामा नपोख्न सक्छ,’ कार्कीले भनेका छन्।
उनले पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौज गर्नेहरूलाई समेत प्रश्न गरेका छन्। पीडितको पीडामाथि थप अपमान गर्ने व्यवहारले मानवीय संवेदनालाई नै कमजोर बनाउने उनको भनाइ छ।
कार्कीले स्पष्ट शब्दमा भनेका छन्, ‘यस्तोमा पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौजमा उत्रिने मान्छेले न मानवीयताको पक्षपोषण गर्छ, न मुलुकको, न पार्टीको।’
उनको यो अभिव्यक्तिले पीडित नागरिकको आक्रोशलाई बुझ्नुपर्ने र उनीहरूको भावनाप्रति संवेदनशील बन्नुपर्ने सन्देश दिएको छ।