देशको सुरक्षामा जीवन बिताएका पूर्व सुरक्षाकर्मी आज जीवन बचाउन सहयोगको पर्खाइमा

नेपालगन्ज । दाङको दंगीशरण गाउँपालिका–१, बाँकी निवासी हाल तुलसीपुर उपमहानगरपालिका–६, मिलन टोलमा बसोबास गर्दै आउनुभएका ४७ वर्षीय टेक बहादुर खड्का अहिले जीवन र मृत्युको संघर्षमा हुनुहुन्छ।

कहिल्यै अरूको सुरक्षाका लागि खटिने उनी आज आफ्नै जीवन जोगाउन अस्पतालको बेडमा संघर्ष गरिरहेका छन्।
२०५७ सालमा शस्त्र प्रहरी सेवामा प्रवेश गरेका खड्काले १६ वर्षसम्म राष्ट्र र जनताको सेवामा आफूलाई समर्पित गरे। सीमाना, सुरक्षा र शान्तिको जिम्मेवारी बोकेर दिन–रात खटिएका उनी वरिष्ठ हवल्दार पदबाट अवकाश प्राप्त हुनु भएको हो। अनुशासन, इमान्दारिता र जिम्मेवारीलाई जीवनको मूल मन्त्र बनाएका खड्का अहिले भने गम्भीर रोगसँग जुध्दैछन्।

केही समयअघि उनलाई क्यान्सर रोग लागेको पुष्टि भयो। यो खबरले परिवारमाथि ठूलो बज्रपात भयो। सुरुमा सामान्य समस्या जस्तो देखिएको अवस्था विस्तारै जटिल बन्दै गयो। उपचारका क्रममा परिवारले आशा पनि राख्यो, आँसु पनि बगायो। उपचारका लागि घरको सबै बचत सकियो, सम्पत्ति बेचियो, ऋण लिइयो। अहिले सम्म करिब ५०–५५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर उपचार अझै जारी छ।

अस्पतालको बेडमा पल्टिरहेका खड्काको आँखामा अझै बाँच्ने चाहना छ। परिवार थाकेको छ, तर आशा मरेको छैन। श्रीमती, छोराछोरी र आफन्तहरू दिनरात उनको साथमा छन्—तर आर्थिक बोझ झन् बढ्दै गएको छ।
एक समय देशको सुरक्षामा खटिएका उनी आज आफैं सहयोगको अपेक्षामा छन्।

“देशको सेवा गर्ने मान्छे आज उपचार खर्च जुटाउन नसकेर संघर्ष गरिरहेका छन्” भन्ने यथार्थले जोकोहीको मन छुन सक्छ। आज टेक बहादुर खड्कालाई हाम्रो साथ चाहिएको छ। तपाईंको सानो सहयोगले पनि उनको जीवनमा ठूलो आशा जगाउन सक्छ।

सम्पर्क नम्बर: ९८४४९७५८५५,९८४१०२०८०९,९७६४१९५९८५
सहयोग रकम पठाउने खाता नम्बर: 42015243100038
“कहिल्यै हार नमान्ने एक पूर्व सुरक्षाकर्मी अहिले जीवनको अन्तिम लडाइँ लडिरहेका छन्। सायद, तपाईंको सानो सहयोगले उनको जीवनमा फेरि उज्यालो फर्किन सक्छ।”

प्रतिक्रिया दिनुहोस