काठमाडौं — बालेन्द्र शाहले प्रदेशगत रूपमा सांसदहरूसँग भेटघाट सुरु गर्दै विकासका प्राथमिकता निर्धारणमा नयाँ कार्यशैली अपनाएका छन्। कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा उनले समस्या र योजनाहरू छोटो, स्पष्ट र प्राथमिकताका आधारमा प्रस्तुत गर्न निर्देशन दिएका छन्।
छलफलको सुरुवातमै प्रधानमन्त्री शाहले “एकदम छोटोमा, टु द पोइन्ट कुरा राख्नुस्” भन्दै अनावश्यक लामो प्रस्तुतीकरण नगर्न सांसदहरूलाई आग्रह गरेका थिए। उनले योजनाहरूलाई प्रभावकारी बनाउन समस्याहरूलाई तीन श्रेणीमा वर्गीकरण गरेर राख्नुपर्ने बताएका छन्।
उनका अनुसार योजनाहरूलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, बजेटअघि नै गर्न सकिने र आगामी बजेटमार्फत कार्यान्वयन गर्नुपर्ने गरी तीन भागमा विभाजन गर्नुपर्नेछ। यसरी वर्गीकरण गर्दा प्राथमिकता निर्धारण र कार्यान्वयन सहज हुने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले तत्काल गर्नुपर्ने कामका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सकिने संकेत पनि दिएका छन्। “कामका लागि मात्र काम होइन, जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम हुनुपर्छ,” उनले भने।
उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने योजनाहरू स्पष्ट रूपमा पहिचान गर्न र प्राथमिकताका आधारमा सूची तयार गर्न सांसदहरूलाई निर्देशन दिएका छन्।
छलफलमा सहभागी एक सांसदका अनुसार अधिकांश सांसदहरूले आफ्ना क्षेत्रका आवश्यकता र योजनाहरू प्रस्तुत गरेका छन् भने केहीले थप अध्ययनपछि विस्तृत प्रतिवेदन बुझाउने बताएका छन्।
प्रधानमन्त्री शाहको यो कार्यशैलीलाई नीतिगत स्पष्टता, परिणाममुखी योजना र कार्यान्वयनमा प्रभावकारिता ल्याउने प्रयासका रूपमा हेरिएको छ।