दाङ । लुम्बिनी फुटबल एकेडेमीको आयोजनामा दाङ, पोखरा र काठमाडौँबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा पोखरा स्थित यौङ स्टार क्लब, काठमाडौँ स्थित डोल्पो क्लब र घोराही स्थित लुम्बिनी फुटबल एकेडेमीका १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिता दुई उमेर समूहमा सञ्चालन गरिएको थियो। खेल अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको आयोजकले जनाएको छ।
१६ वर्ष मुनिको समूहमा पोखराको यौङ स्टार क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ भने १३ वर्ष मुनिको समूहमा लुम्बिनी फुटबल एकेडेमीले विजय हासिल गरेको छ।
विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाउ अभियानका संयोजक सविन प्रियासन, लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओली लगायत अतिथिहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
आयोजकका अनुसार यस्ता प्रतियोगिताले युवा खेलाडीको क्षमता विकास र आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ। साथै प्रत्येक छ महिनामा यस्ता प्रतियोगिता आयोजना गरिने र आगामी प्रतियोगिता पोखरामा हुने यौङ स्टार क्लबले जनाएको छ।
यस प्रतियोगितामा काठमाडौँ र पोखराबाट ७७ जना खेलाडी तथा प्रशिक्षकहरू घोराही आएका थिए।