दाङ खेलकुद विकास समितिमा नयाँ नेतृत्व, विवेक श्रेष्ठले सम्हाले पदभार

दाङ । दाङ जिल्ला खेलकुद विकास समितिमा नयाँ नेतृत्व आएको छ। नवनियुक्त अध्यक्ष विवेक श्रेष्ठले बिहीबार आयोजित एक कार्यक्रमका बीच औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष श्रेष्ठले दाङ जिल्लाको खेलकुद क्षेत्रलाई व्यवस्थित, प्रभावकारी र व्यावसायिक बनाउने लक्ष्यसहित आफू अघि बढ्ने बताउनुभयो। उहाँले खेल पूर्वाधारको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय स्तरमा रहेका प्रतिभालाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनेतर्फ विशेष पहल गर्ने उल्लेख गर्नुभयो।

अध्यक्ष श्रेष्ठले जिल्लाभर खेलकुद गतिविधिलाई विस्तार गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने पनि जानकारी दिनुभयो। उहाँका अनुसार खेलकुदलाई रोजगारी र पहिचानसँग जोड्ने दीर्घकालीन योजना तयार गरिनेछ।

कार्यक्रममा सहभागी सरोकारवाला तथा खेलकर्मीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै दाङको खेलकुद क्षेत्रमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेका छन्।
नवनियुक्त अध्यक्ष श्रेष्ठको नेतृत्वमा दाङको खेलकुद क्षेत्रले नयाँ गति लिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस