घोराही बनाऔं अभियानको सक्रियतामा अल्पत्र बाल अस्पताल पुनःसञ्चालनको तयारी

दाङ ।  घोराही–१६ स्थित अल्पत्र परेको बाल अस्पताल पुनःसञ्चालनको विषयमा घोराही बनाऔं अभियानले बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ।
२०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नाममा भव्य भवन र पर्याप्त जग्गासहित स्थापना भए पनि केही समयमै बन्द भएको थियो। लामो समय अलपत्र रहँदा अस्पताल अहिले खण्डहर जस्तो अवस्थामा पुगेको छ। यस विषयमा अभियानले गत फागुण २९ गते जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको थियो।
अभियानले स्थानीय सरकार घोराही उपमहानगरपालिकालाई पनि जानकारी गराएको थियो। उपमहानगरपालिकाले सम्बन्धित वडा नं. १६ कार्यालय र अस्पताल व्यवस्थापन समितिबाट औपचारिक जवाफ लिएपछि अब विशेष योजना बनाउने तयारी भइरहेको छ।
उपमहानगरकी उपप्रमुख हुमा डिसीले बाल अस्पताल सबैको साझा सम्पत्ति भएको बताउँदै यसलाई सबैको पहलमा सञ्चालन गर्नु आवश्यक रहेको र अभियानको कदम सराहनीय रहेको व्यक्त गर्नुभयो।
अस्पताल सञ्चालक समितिका संयोजक प्रदीप योगीले बाल विशेषज्ञ सेवा दिने उद्देश्यले अस्पताल सुरु भए पनि विभिन्न कारणले सेवा रोकिएको बताउँदै घोराही बनाऔं अभियान र स्थानीय सरकारसँग सहकार्यमा अब गम्भीरताका साथ अघि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो।
अल्पत्र बाल अस्पतालको पुनःसञ्चालनका लागि जिल्ला प्रशासन, उपमहानगरपालिका, वडा कार्यालय, टोल विकास संस्था र स्थानीय बासिन्दाबीच सर्वपक्षीय छलफल गरी नयाँ योजना तयार पारिनेछ। यस समाचार र अभियानको सक्रियताले स्थानीय बासिन्दामा अस्पताल छिटै सञ्चालन हुने विश्वास बढाएको छ।
अस्पताल भवन भारतीय दूतावास, प्रदीप योगी परिवार, दाताहरू र राज्यको आर्थिक सहयोगमा निर्माण गरिएको थियो। अहिले झ्याल ढोका फुटेको, भित्ताहरू जीर्ण, प्रांगण झारजंगलले ढाकिँदै गएको अवस्थामा छ। स्थानीय बुद्धिजीवी विनोद केसीले नयाँ व्यवस्थापन समिति गठन गरी छिटो सञ्चालन प्रक्रिया अघि बढाउनुपर्ने सुझाएका छन्।

प्रतिक्रिया दिनुहोस