बाँके। तराई क्षेत्रमा विकसित हिंसात्मक घटनालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी उच्च बनाएको छ।
सीमा क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बन्न सक्ने आकलन गर्दै सशस्त्र प्रहरीले भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँग समन्वय र सहकार्य बढाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार गृह मन्त्रालयको सुरक्षा योजनाअनुसार सीमा क्षेत्रमा सुरक्षा निकायहरू एकीकृत रूपमा परिचालन भइरहेका छन्।
सीमाबाट नेपाल प्रवेश गर्ने तथा भारततर्फ जाने व्यक्तिहरूमाथि निगरानी बढाइएको कार्कीले बताए। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिको जाँच तथा खानतलासीसमेत कडाइ गरिएको उनले जानकारी दिए।
भारतीय सीमावर्ती क्षेत्रमा एसएसबीले गर्ने निगरानी तथा गस्तीमा सशस्त्र प्रहरीले समेत समन्वय गरी सुरक्षा गतिविधि अघि बढाइरहेको छ। सीमा क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधिलाई नजिकबाट नियाल्दै आवश्यक सुरक्षा रणनीति निर्माण भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रवक्ता कार्कीका अनुसार अन्तरदेशीय सीमाबाट नेपालतर्फको सुरक्षामा चुनौती सिर्जना हुनसक्ने प्रत्येक विषयको सूक्ष्म विश्लेषण भइरहेको छ। सम्भावित जोखिमका आधारमा सुरक्षा योजना बनाएर आवश्यक जनशक्ति परिचालन गरिएको उनको भनाइ छ।
सशस्त्र प्रहरी बलका अनुसार नेपालका सीमावर्ती क्षेत्रमा २६० वटा बोर्डर आउट पोस्ट (बीओपी) रहेका छन्। तीमध्ये ११ वटा बीओपी चीनतर्फको सीमावर्ती क्षेत्रमा छन् भने बाँकी बीओपी भारतसँगको सीमामा तैनाथ छन्।
भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा रहेका बीओपीमा तैनाथ सशस्त्र प्रहरीलाई २४ घण्टा नै उच्च निगरानीमा परिचालन गरिएको प्रवक्ता कार्कीले बताए।
सीमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित सुरक्षा चुनौतीलाई समयमै पहिचान गरी नियन्त्रण गर्न सुरक्षा निकायबीच समन्वयलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।