हनुमान मन्दिरमा रक्तपात, सहायक पूजारीको हत्या भएको आशंका

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको छ। घटनापछि क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी मधुसूदन न्यौपानेका अनुसार मन्दिरमा सुतिरहेका एक व्यक्तिको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतक धनुषाको हँसपुर नगरपालिका निवासी करिब ४५ वर्षीय बन्ठु राउत रहेको खुलेको प्रहरीले जनाएको छ। उनी मन्दिरमा सहायक पूजारीका रूपमा बस्दै आएको स्थानीयको भनाइ रहे पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार राउत करिब १५ वर्षदेखि सोही मन्दिरमा बस्दै आएका थिए। बीच–बीचमा रोजगारीका लागि बाहिर जाने र पुनः मन्दिरमै फर्किएर बस्ने गरेका थिए। मन्दिरका मुख्य पूजारी भने अर्कै व्यक्ति रहेको बताइएको छ।

स्थानीयवासीका अनुसार राउत केही दिनअघि भारतको पञ्जाबबाट कमाइ गरेर फर्किएका थिए। उनीसँग रहेको नगद लुट्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने आशंका स्थानीयले व्यक्त गरेका छन्। यद्यपि प्रहरीले घटनाका सबै सम्भावित कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक प्रमाण संकलन तथा अनुसन्धान गरिरहेको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस