नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शनिबार एकैदिन छ वटा शालिकको अनावरण गर्दै ऐतिहासिक व्यक्तित्वप्रति सम्मान व्यक्त गरेको छ। नगरका विभिन्न स्थानमा पुनर्निर्माण तथा नवनिर्माण गरिएका शालिकहरूको औपचारिक अनावरण गरिएको हो।
ट्राफिक चोकमा नवनिर्मित पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिक अनावरणसँगै जननायक बीपी कोइराला, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र तथा शहीद सेतु बिकसहितका पुनर्निर्माण गरिएका शालिकहरूको पनि नगरप्रमुख प्रशान्त बिष्टले अनावरण गरे।
अनावरण कार्यक्रममा बोल्दै नगरप्रमुख बिष्टले इतिहासका महत्वपूर्ण व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्न र उनीहरूको प्रेरणादायी जीवनयात्रा नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले शालिकहरूको पुनर्निर्माण तथा स्थापना गरिएको बताए। उनले इतिहासलाई जोगाउनु भनेको भविष्यलाई सही दिशा दिनु पनि भएकाले यस्ता कार्यले समाजमा इतिहासप्रतिको सम्मान र चेतना बढाउने विश्वास व्यक्त गरे।
नेपालगञ्ज उपमहानगरपालिकाले सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ।
तस्बिर : अविसेक डाँगी / नेपालयन हब





