दाङ । दाङमा एक वर्षको अवधिमा वनपैदावारबाट १० करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ। डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वन संवर्धन प्रणाली अन्तर्गत सामुदायिक वनबाट सङ्कलन गरिएको काठ र दाउरा बिक्रीबाट कुल १० करोड ६१ लाख १३ हजार २२४ रुपैयाँ आम्दानी भएको हो।
डिभिजन वन कार्यालय घोराहीका प्राविधिक अधिकृत दिनेश डाँगीका अनुसार वन संवर्धन प्रणाली लागू भएका ४८ वटा सामुदायिक वनबाट एक लाख ९० हजार ७४७.२१ क्युफिट काठ र ४७२.४८ चट्टा दाउरा उत्पादन गरिएको छ। वनपैदावार सङ्कलनका लागि स्वीकृति प्राप्त गरेका ९८ वटा वन उपभोक्ता समूहमध्ये ५० वटा समूहले काठ तथा दाउरा बिक्री गरी उक्त आम्दानी गरेका हुन्।
कार्यालयका अनुसार कुल आम्दानीमध्ये काठ बिक्रीबाट ९ करोड ८७ लाख ३३ हजार ९१२ रुपैयाँ र दाउरा बिक्रीबाट ७३ लाख ७९ हजार ३१२ रुपैयाँ प्राप्त भएको छ। काठ बिक्रीबाट भएको आम्दानीमध्ये कानुनी व्यवस्थाअनुसार २५ प्रतिशत अर्थात् २ करोड ६० लाख ६६ हजार २४८ रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरिएको छ भने बाँकी रकम सम्बन्धित वन उपभोक्ता समूहको खातामा गएको छ।
वन समूहहरूले प्राप्त गरेको रकम वन संरक्षण, वन व्यवस्थापन, जैविक विविधता संरक्षण तथा स्थानीय समुदायका सामाजिक विकासका कार्यक्रमहरूमा खर्च गर्ने गरेका छन्। दाउराबाट प्राप्त आम्दानीमध्ये पनि १७ लाख ५ हजार ३१९ रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा भएको कार्यालयले जनाएको छ।
वन संवर्धन प्रणाली अन्तर्गत उत्पादन भएको काठमध्ये एक लाख ३४ हजार ६२.६३ क्युफिट तथा ४६९.७४ चट्टा दाउरा वन उपभोक्ता समूहबाहिर बिक्री गरिएको छ। बाँकी काठ भने सम्बन्धित उपभोक्ता समूहका सदस्यहरूले नै खरिद गरेका छन्।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा दाङका निजी वनबाट ५१ हजार ३९०.७२ क्युफिट काठ र १५५.५२ चट्टा दाउरा उत्पादन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ।
हाल डिभिजन वन कार्यालय घोराहीको कार्यक्षेत्रमा ३९२ वटा सामुदायिक वन र २४८ वटा निजी वन रहेका छन्। वन व्यवस्थापन र संवर्धन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुँदा वनपैदावार उत्पादनसँगै स्थानीय समुदायको आयआर्जन र प्रदेशको राजस्व वृद्धि गर्न उल्लेखनीय योगदान पुगेको कार्यालयको भनाइ छ।