नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्रबाट हुँदै आएको अवैध ब्रोइलर कुखुरा तथा मासुजन्य पदार्थको आयातमा सरकारले प्रभावकारी नियन्त्रण गर्न थालेपछि नेपालगञ्जका स्थानीय मासु उद्योगहरू पुनः सञ्चालनको तयारीमा जुटेका छन्। लामो समयदेखि अवैध आयातका कारण प्रतिस्पर्धामा टिक्न नसकेर बन्द भएका उद्योगहरू फेरि सञ्चालनमा आउने संकेतसँगै उद्योगी, किसान र उपभोक्तामा सकारात्मक सन्देश पुगेको छ।
यसैक्रममा करिब ५ करोड रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरिएको भेरी मिट सप एण्ड कोल्ड स्टोर पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। डल्फिन ग्रुपले २०७९ सालमा स्थापना गरेको उक्त उद्योग सीमावर्ती क्षेत्रबाट सस्तो मूल्यमा अवैध रूपमा भित्रिने ब्रोइलर कुखुरा र मासुजन्य पदार्थका कारण केही समयअघि सञ्चालन बन्द गर्न बाध्य भएको थियो।
डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापाले सरकारले सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएपछि उद्योग पुनः सञ्चालन गर्ने वातावरण बनेको बताए। उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय तथा पूर्वाधारसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
“सरकारले अवैध व्यापार नियन्त्रणमा देखाएको सक्रियताले स्वदेशी उद्योगलाई नयाँ ऊर्जा दिएको छ,” उनले भने, “हामी अब नयाँ उत्साहका साथ उद्योग सञ्चालनमा ल्याउँदैछौं। उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र स्वच्छ मासु उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहनेछ।”
उनका अनुसार सीमाबाट हुने अवैध ब्रोइलर आयात पूर्ण रूपमा रोकिएको नभए पनि विगतको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। यसले स्वदेशी उत्पादनलाई बजारमा निष्पक्ष प्रतिस्पर्धाको अवसर मिल्ने विश्वास गरिएको छ।
उद्योग सञ्चालनमा रहँदा अत्याधुनिक प्रशोधन प्रणाली, कोल्ड चेन प्रविधि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वच्छ उत्पादन प्रक्रियाका कारण भेरी मिट सपले छोटो समयमै उपभोक्ताको विश्वास जितेको थियो। तर सीमाबाट अवैध रूपमा भित्रिने सस्तो मासुले बजारमा प्रभुत्व जमाएपछि उद्योग सञ्चालन असहज बन्दै गएको थियो।
उद्योग बन्द हुँदा करिब १०० जना श्रमिक प्रत्यक्ष रूपमा रोजगारीबाट वञ्चित भएका थिए। त्यससँगै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लाका हजारौँ ब्रोइलर किसानले आफ्नो उत्पादनको नियमित बजार गुमाएका थिए। स्थानीय पोल्ट्री व्यवसाय, पशुदाना उद्योग, ढुवानी सेवा तथा अन्य सहायक व्यवसायसमेत त्यसको प्रत्यक्ष असरमा परेका थिए।
डल्फिन ग्रुपका अनुसार पुनः सञ्चालन हुन लागेको उद्योगमा अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक उपकरण जडान गरिनेछ। आधुनिक कोल्ड चेन प्रणालीमार्फत उत्पादनको गुणस्तर र खाद्य सुरक्षालाई उच्च प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
“हाम्रो उद्देश्य केवल मासु बिक्री गर्नु मात्र होइन,” थापाले भने, “उपभोक्तालाई सुरक्षित, स्वस्थ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउनु हो। आधुनिक प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिन हामी प्रतिबद्ध छौँ।
यसअघि भेरी मिट सपबाट प्रशोधन गरिएको मासु नेपालगञ्जसहित बाँके, बर्दिया, दाङ र सुर्खेतका बजारमा लोकप्रिय थियो। गुणस्तरीय उत्पादन, स्वच्छ प्याकेजिङ र विश्वसनीय सेवाका कारण यसले उपभोक्तामाझ छुट्टै पहिचान बनाएको थियो।
उद्योग पुनः सञ्चालनसँगै स्थानीय कृषकले आफ्नो उत्पादनको सुनिश्चित बजार पाउने, रोजगारीका अवसर विस्तार हुने तथा स्वदेशी पोल्ट्री उद्योगले नयाँ गति लिने अपेक्षा गरिएको छ। सीमामा अवैध आयात नियन्त्रणको प्रभाव दीर्घकालसम्म कायम रहन सके स्थानीय उत्पादन र उद्योग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उद्योगीहरूको विश्वास छ।