दाङ । दाङमा कम्युनिस्ट आन्दोलनका अग्रणी तथा नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको ८० वर्षको उमेरमा निधन भएको छ। सोमबार बिहान २:१० बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
तुलसीपुर उपमहानगरपालिका–११ हस्नापुर निवासी बस्नेत लामो समयदेखि मधुमेह र मृगौला रोगबाट पीडित थिए। केही दिनअघि निमोनियाबाट समेत ग्रस्त भएपछि उनलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको थियो। करिब एक सातासम्म उपचार गरिए पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार आइतबार उनलाई घर ल्याइएको थियो। त्यसपछि थप उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइए पनि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। आइतबार बेलुका मृगौलाको डायलासिस गरिए पनि सोमबार बिहान २:१० बजे उनको निधन भएको हो।
बस्नेतका चार छोरामध्ये जेठा छोराको यसअघि नै निधन भइसकेको छ। उनका एक छोरी पनि छन्।
दाङको कम्युनिस्ट आन्दोलनका संस्थापकमध्येका एक मानिने बस्नेतले विद्यार्थी जीवनमै २०२८ सालतिर तत्कालीन कोअर्डिनेसन केन्द्र (कोके) मार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनी आन्दोलनकै क्रममा पटक–पटक जेलसमेत परेका थिए।
पार्टीभित्र निष्ठा, इमानदारी र सिद्धान्तप्रति प्रतिबद्ध नेताका रूपमा परिचित बस्नेतले जीवनभर सीमित अवसरमा मात्रै सार्वजनिक जिम्मेवारी सम्हाले। उनी २०५४ सालतिर तत्कालीन जिल्ला विकास समिति दाङको सदस्य बनेका थिए भने २०७४ सालमा लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा तत्कालीन सुकुम्बासी समस्या आयोगको केन्द्रीय सदस्यका रूपमा पनि काम गरेका थिए।
एमाले दाङको संगठन निर्माणमा महत्वपूर्ण योगदान दिएका बस्नेतले जिल्ला सचिव, उपसचिव, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य तथा दाङ निर्वाचन क्षेत्र नम्बर–३ को इञ्चार्जलगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए।
नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्कासँग भारतमा अध्ययन गरेका बस्नेत फरक राजनीतिक विचारधारामा रहे पनि खड्कासँगको मित्रता र उनको इमानदारीको खुलेर प्रशंसा गर्ने नेताका रूपमा परिचित थिए। भारतबाट एलएलसी सरहको अध्ययन पूरा गरेका बस्नेतलाई नेपालीसँगै अंग्रेजी र हिन्दी भाषामा पनि राम्रो दख्खल थियो।
बस्नेतको पार्थिव शरीर सोमबार बिहान उनका माइला छोराको तुलसीपुर–६ हात्तीखौलास्थित निवासमा राखिएको छ। बिहान ९ बजे एमालेको तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम रहेको छ।
एमालेका नेता–कार्यकर्तासहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत विभिन्न राजनीतिक व्यक्तित्वले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनको पार्थिव शरीर तुलसीपुरको सितलपुरस्थित बबई नदी घाटमा अन्त्येष्टिका लागि लगिने जनाइएको छ।
एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले बस्नेतको निधनले दाङको कम्युनिस्ट आन्दोलन र नेकपा (एमाले) दाङलाई अपूरणीय क्षति पुगेको बताएका छन्।