तराई–मधेशको अवस्था थप बिग्रिन नदिने बालेनको आश्वासन, सांसदलाई जनतामाझ पुग्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले तराई–मधेशमा पछिल्लो समय देखिएको समस्या थप जटिल बन्न नदिन सरकारले बहुपक्षीय रणनीतिसहित आवश्यक कदम अघि बढाएको बताएका छन्।

शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले परिस्थितिलाई थप बिग्रिन नदिने गरी सरकार गम्भीर रूपमा अघि बढिरहेको भन्दै सांसदहरूलाई आश्वस्त पारेका हुन्।

प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालन भइसकेको जानकारी दिँदै नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरेका छन्।

सरकारको प्राथमिकता प्रभावित नागरिकसम्म पुग्ने, उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउने तथा पछिल्ला घटनाको निष्पक्ष छानबिन गर्ने रहेको प्रधानमन्त्री शाहले बताएका छन्। नागरिकको सुरक्षा र शान्ति–सुव्यवस्था कायम गर्नु सरकारको मुख्य दायित्व भएकाले त्यसतर्फ राज्यका संयन्त्रहरू सक्रिय रहेको उनको भनाइ छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका छन्।

उनले सांसदहरूलाई नागरिक र राज्यबीच विश्वास तथा सद्भावको बलियो पुल बन्न आग्रह गर्दै स्थानीय स्तरमा देखिएका समस्या, नागरिकका गुनासा तथा आवश्यकताबारे सरकारलाई जानकारी गराउनसमेत भनेका छन्।

प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिमा नागरिकमा अनावश्यक त्रास र भ्रम सिर्जना हुन नदिन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन्। राज्य र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार र संयमित हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार प्रभावित क्षेत्रको अवस्था नजिकबाट नियालिरहेको छ। नागरिकको सुरक्षा, शान्ति–सुव्यवस्था र घटनाको निष्पक्ष छानबिनलाई प्राथमिकतामा राखेर आवश्यक कदम चालिने प्रधानमन्त्री शाहले बताएका छन्।

प्रतिक्रिया दिनुहोस