बाँके । सुनसरी र सिराहामा भएका घटनाप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै बाँकेमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सद्भाव–र्याली निकालिने भएको छ।
सम्बन्धित सरोकारवालाको सहभागितामा बसेको बैठकले सुनसरीमा २०८३ साल साउन १० गते भएको घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति तथा साउन १४ गते सिराहामा भएको घटनामा मृत्यु भएका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।
बैठकले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। साथै, दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ।
सुनसरी र सिराहामा भएका घटनाका कारण बाँके जिल्लामा कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन सबै पक्षलाई सचेत र संयमित रहन बैठकले आग्रह गरेको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले २०८३ साल साउन १६ गते बिहान ७ः३० बजे नेपालगञ्जमा सद्भाव–याली निकालिने भएको हो।
र्याली बीपी चोकबाट सुरु भई धम्बोजीस्थित वीरेन्द्र चोकसम्म पुग्ने जनाइएको छ। र्यालीमा जिल्लाका विभिन्न सरोकारवाला, राजनीतिक दल, सामाजिक तथा धार्मिक क्षेत्रका प्रतिनिधि र नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ।
बैठकले विगतमा विभिन्न समयमा भएका सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सार्वजनिक स्थानमा डीजे तथा साउन्ड सिस्टम बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय भएको स्मरण गर्दै उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, विभिन्न अवसरमा आयोजना हुने धार्मिक याली तथा कार्यक्रमहरूमा हातहतियार प्रदर्शन गर्न निषेध गर्ने निर्णय गरिएको छ। परम्पराअनुसार कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा हातहतियार प्रदर्शन गर्ने चलन भए वास्तविक हातहतियारको सट्टा त्यसको प्रतीकात्मक स्वरूप मात्र प्रयोग गर्नुपर्ने निर्णय बैठकले गरेको छ।
बैठकले पछिल्ला घटनाबाट उत्पन्न हुनसक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै जिल्लामा शान्ति, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेको छ। साथै, कुनै पनि अफवाह, उत्तेजना वा सामाजिक द्वन्द्व बढाउने गतिविधिमा संलग्न नहुन र संयम अपनाउन सबैमा आग्रह गरिएको छ।