नेपालगन्ज । बाँकेको भेरी अस्पतालले स्थापना भएको १३६ वर्ष पूरा गरेको अवसरमा मंगलबार विविध कार्यक्रमसहित आफ्नो १३६औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
वि.सं. १९४७ साउन १२ गते तत्कालीन पृथ्वी वीर डिस्पेन्सरीका रूपमा सात शैयाबाट स्थापना भएको अस्पताल विभिन्न चरण पार गर्दै हाल संघीय सरकारअन्तर्गतको केन्द्रीय अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राई ले भेरी अस्पतालको विकास र सेवा विस्तारका लागि आवश्यक पहलमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारले घोषणा गरेअनुसार भेरी अस्पताललाई ५०० शैयाको विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
उहाँले बाँकेदेखि कैलालीसम्मका सत्तारूढ दलका सांसदहरूसँग समन्वय गर्दै अस्पतालको पूर्वाधार विकास र स्वास्थ्य सेवा विस्तारका लागि साझा एजेन्डाका साथ काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरी तथा कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य केपी खनाल ले पनि भेरी अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेरी अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन दर्नालले अस्पतालको वार्षिक स्वास्थ्य प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले प्रदान गरिरहेका सेवा, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउनुभयो।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्री ले प्रदेश सरकारको सहयोगमा भेरी अस्पताल परिसरमा बालबालिकाका लागि ५० शैयाको ‘समता भवन’ निर्माण गरिने जानकारी दिनुभयो। प्रदेशसभा सदस्य माया पुन ले पनि अस्पतालको विकासमा प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने बताउनुभयो।
वार्षिकोत्सवका अवसरमा प्लम्बर राकेश थारु, दिनेश चिडिमार तथा कार्यालय सहयोगी गोकुल चिडिमारलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो। त्यस्तै, २५ वर्ष सेवा पूरा गरेका दन्त चिकित्सक डा. निर्माण शाहसहित अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पनि कदरपत्र प्रदान गरिएको थियो। विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले सांस्कृतिक प्रस्तुति, नाटक तथा गजल वाचनमार्फत मनोरञ्जन प्रदान गरेका थिए। सोही अवसरमा अस्पतालको मुखपत्र ‘अक्सिजन’ पनि विमोचन गरिएको थियो।