नेपालगञ्जल । नेपाल–भारत सीमा अन्तर्गत बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा सशस्त्र प्रहरी बलले बोर्डर इन्टर्याक्सन टोली (बीआईटी) परिचालन गरेको छ। सीमा आवतजावतलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउनुका साथै मानव बेचबिखन, लागूऔषध तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले टोली परिचालन गरिएको हो।
जमुनाहा नाकामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेका गणपति एसपी भीमबहादुर चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन बिष्ट, सीमा सुरक्षा गुल्म जमुनाहाका प्रमुख डीएसपी तीर्थ न्यौपाने तथा बीओपी जयसपुरका प्रमुख इन्स्पेक्टर हिमाल केसीको उपस्थितिमा बीआईटी टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।
सशस्त्र प्रहरी बलका अनुसार आइतबारदेखि देशका प्रमुख सीमा नाकाहरूमा बीआईटी टोली परिचालन गरिएको छ। प्रत्येक टोली सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहनेछ। टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको बीआईटीको आधिकारिक पोशाकमा खटिनेछ। प्रत्येक सिफ्टमा कम्तीमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारी पनि रहने व्यवस्था गरिएको छ।
बीआईटी टोलीको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनु, मानव बेचबिखन तथा अवैध ओसारपसारका घटनाको रोकथाम, उद्धार र सूचना संकलन गर्नु रहेको छ। साथै प्रतिबन्धित लागूऔषध, अवैध सामानको तस्करी तथा अन्य सीमा अपराधमाथि निगरानी बढाउँदै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाहीमा सहयोग गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको सशस्त्र प्रहरीले जनाएको छ।