बाँके । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ की मिना घर्ती मगरका लागि समाजसेवा कुनै पद वा पेशा मात्र होइन, जीवनको उद्देश्य बनेको छ। अध्ययनका लागि नेपालगञ्ज पुगेकी उनी आज हजारौँ सहयोगापेक्षीको अनुहारमा मुस्कान ल्याउने अभियानकी परिचित पात्र बनेकी छन्। बास नेपालले सञ्चालन गर्दै आएको ‘कपडा बैंक’ को संयोजकका रूपमा उनी विगत पाँच वर्षदेखि निरन्तर सेवामा खटिएकी छन्।

मिना करिब नौ वर्षअघि उच्च शिक्षाको सिलसिलामा नेपालगञ्ज आएकी हुन्। हाल स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी विगत छ वर्षदेखि बास नेपालसँग आबद्ध छिन्। भेरी प्राविधिक शिक्षालयमा सेक्रेटरियल म्यानेजमेन्ट विषय अध्ययनका क्रममा ओजेटी (OJT) गर्न बास नेपाल पुगेपछि उनको सामाजिक यात्राको सुरुआत भएको थियो। सुरुमा इन्टर्न र स्वयंसेवकका रूपमा काम गरेकी उनी पछि हेल्पडेस्क सहजकर्ता, एकाउन्टेबिलिटी ल्याब फेलो हुँदै अहिले एफकेबी यूकेको सहयोगमा सञ्चालित महिला तथा बालिकाको महिनावारी स्वच्छता तथा व्यवस्थापन कार्यक्रममा शिक्षा अधिकृत तथा कार्यक्रम सहायकको जिम्मेवारी सम्हालिरहेकी छन्।
यिनै जिम्मेवारीसँगै उनले बास नेपालले सञ्चालन गरेको कपडा बैंक को नेतृत्व पनि सम्हालिरहेकी छन्। २०७६ सालमा “हुनेले दिऔँ, नहुनेले लैजाऔँ” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियान अहिले नेपालगञ्जका विपन्न, मजदुर, असहाय तथा सहयोगापेक्षी नागरिकका लागि भरोसाको केन्द्र बनेको छ।

सुरुमा धम्बोझी चोकमा स्थापना गरिएको कपडा बैंक अहिले नेपालगञ्ज–१० स्थित गणेशमान चोक प्रहरी बिट नजिक सञ्चालन हुँदै आएको छ। यहाँ आउने जो–कोहीले आफ्नो आवश्यकता अनुसार निःशुल्क कपडा लैजान सक्छन्। अर्कोतर्फ, प्रयोगयोग्य कपडा भएका व्यक्तिहरू, परिवार र विभिन्न संस्थाले स्वस्फूर्त रूपमा कपडा दान गर्छन्। कतिपय आफैँ बैंकसम्म आइपुग्छन् भने कतिपयले सम्पर्क गरेर घरबाटै कपडा संकलन गर्न आग्रह गर्छन्।
मिना हरेक दिन आफ्नो नियमित कामसँगै केही समय कपडा बैंकका लागि छुट्याउँछिन्। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने बैंकमा आउने कपडा मिलाउने, प्रयोगयोग्य र अनुपयोगी छुट्याउने, व्यवस्थित रूपमा राख्ने, आवश्यकताअनुसार वितरण गर्ने र दाताको अभिलेख राख्ने जिम्मेवारी उनी आफैँले सम्हाल्छिन्।

उनी भन्छिन्, “जब मलाई कपडा बैंकको जिम्मेवारी लिन भनियो, मैले स्वेच्छाले स्वीकार गरेँ। यो कामबाट कुनै आर्थिक लाभ छैन, तर सहयोगापेक्षीको अनुहारमा देखिने मुस्कान नै मेरो सबैभन्दा ठूलो पुरस्कार हो।”
सात वर्षको अवधिमा हजारौँ व्यक्तिले कपडा बैंकबाट निःशुल्क कपडा प्राप्त गरिसकेका छन्। बैंकमा संकलित कपडा नेपालगञ्जमा मात्र होइन, आवश्यकताअनुसार दुर्गम बस्तीमा पुगेर पनि वितरण गरिन्छ। स्वयंसेवकको सहयोगमा समय–समयमा बजार तथा बस्तीमा पुगेर कपडा संकलन अभियान समेत सञ्चालन हुँदै आएको छ।
तर यो अभियान चुनौतीरहित छैन। धेरै दाताले सफा र राम्रो कपडा दिन्छन् भने कतिपयले फाटेका, च्यातिएका र प्रयोग गर्नै नमिल्ने कपडा पनि ल्याएर छोड्ने गरेका छन्। मिना र उनको टोलीले हरेक दिन ती कपडा छुट्याएर प्रयोगयोग्य कपडा मात्र बैंकमा राख्छन्। प्रयोग गर्न नमिल्ने कपडा भने नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा व्यवस्थापन गरिन्छ।

कहिलेकाहीँ कपडा दान कम आउँछ, तर लिन आउनेको संख्या अत्यधिक हुन्छ। कतिपयले कपडा हेर्ने क्रममा सबै अस्तव्यस्त बनाइदिन्छन्। सामाजिक सञ्जालमा पनि कहिलेकाहीँ व्यवस्थापनको वास्तविकता नदेखाई खाली वा अस्तव्यस्त अवस्थाको तस्बिर राखेर आलोचना गरिन्छ। तर यस्ता टिप्पणीले मिना र उनको टोलीलाई विचलित बनाएको छैन।
उनीहरूका लागि सबैभन्दा ठूलो प्रेरणा भनेको कपडा लिएर फर्किने सहयोगापेक्षीको अनुहारमा देखिने सन्तुष्टि हो। शरीर ढाक्ने कपडा मात्र होइन, आत्मसम्मान पनि पाएको अनुभूति गर्ने ती अनुहारहरू नै यो अभियानको सफलताको प्रमाण हुन्।
कपडा बैंकको इतिहासमा एउटा पीडादायी घटना पनि छ। जेन्जी आन्दोलनका क्रममा कपडा बैंकमा आगजनी गरियो। केही क्षणमै हजारौँ गरिबका लागि संकलित कपडा खरानी बने। त्यो दृश्यले मिना निकै भावुक भइन्। तर उनले हार मानिनन्। बास नेपालको टोलीसँग मिलेर केही दिनमै बैंकलाई पुनः मर्मत, सरसफाइ र रंगरोगन गरी सञ्चालनमा ल्याइयो। त्यो घटनाले उनीहरूको सेवाभावलाई झन् बलियो बनायो।
आज बास नेपालको कपडा बैंक नेपालका सफल सामाजिक अभियानमध्ये एक मानिन्छ। यसको प्रभाव देखेर अन्य ठाउँमा पनि यस्तै अभियान सुरु भएका छन्। यो उपलब्धिलाई मिना आफ्नो व्यक्तिगत सफलता होइन, बास नेपाल, स्वयंसेवक, दाता र सम्पूर्ण समुदायको साझा प्रयासको परिणाम मान्छिन्।
उनी भन्छिन्, “हाम्रो चाहना एउटै हो—कपडाको अभावमा कोही पनि चिसोमा कठ्यांग्रिन नपरोस्, नाङ्गो भएर हिँड्न नपरोस् र गरिबीका कारण सम्मानित जीवनबाट वञ्चित हुन नपरोस्।”
मानवताको सेवामा समर्पित मिना घर्ती मगरको यो यात्रा अझै जारी छ। हरेक दिन कपडा मिलाउँदै, दाताको विश्वास जोगाउँदै र सहयोगापेक्षीको अनुहारमा मुस्कान खोज्दै उनी अघि बढिरहेकी छन्। उनको यही समर्पणले ‘कपडा बैंक’लाई कपडा वितरण गर्ने स्थान मात्र नभई मानवता, सम्मान र आशा बाँड्ने अभियानका रूपमा स्थापित गरेको छ।