दाङमा ग्यास अभाव मेट्ने नायक : सबिन प्रियासन

दाङ । दाङमा केही समयअघि देखिएको ग्यास अभावले सर्वसाधारणको दैनिकी अत्यन्त कष्टकर बनेको थियो। ग्यास पाउने आशामा मानिसहरू पानी, घाम र थकानको पर्वाह नगरी तीन–तीन दिनसम्म लाइनमा बस्न बाध्य थिए। ग्यास आउँछ कि भन्ने आशामा दिनरात प्रतीक्षा गर्दा कतिपय ग्राहकका सिलिन्डरसमेत हराएका गुनासाहरू आएका थिए। यस्तो अव्यवस्थित र पीडादायी अवस्थाबाट सर्वसाधारणलाई मुक्त गर्न घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासन अग्रसर बने।

प्रियासनले जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सरोकारवालासँग निरन्तर समन्वय गर्दै दाङमा कुपन प्रणाली लागू गर्न अग्रणी भूमिका खेले। केवल प्रणाली लागू गराउने काममै सीमित नभई त्यसलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन उनी रातदिन नभनी खटिए। ग्यास वितरणमा देखिएका समस्या, भीडभाड, पहुँचवालाको प्रभाव तथा अनियमिततालाई कम गर्दै वास्तविक उपभोक्ताको घरसम्म ग्यास पुर्‍याउने उद्देश्यका साथ कुपन प्रणालीलाई व्यवस्थित बनाउन उनको सक्रियता उल्लेखनीय रह्यो।

आज परिस्थितिमा आएको परिवर्तन सबैले महसुस गर्न थालेका छन्। हिजो ग्यासका लागि दिनौँसम्म सडकमा लाइन बस्नुपर्ने अवस्था धेरै हदसम्म अन्त्य भएको छ। उपभोक्ताले तुलनात्मक रूपमा सहज र व्यवस्थित ढङ्गले घरघरमै ग्यास प्राप्त गर्न थालेका छन्। सामाजिक समस्यालाई केवल चर्चा र आलोचनाको विषय नबनाई समाधानका लागि सरोकारवालासँग समन्वय, पहल र निरन्तर निगरानी गर्ने नेतृत्वको उदाहरण प्रस्तुत गर्दै सबिन प्रियासन ग्यास अभावबाट दाङवासीलाई राहत दिलाउने सक्रिय अभियन्ताका रूपमा समाजमा स्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस