बबई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, ६ जना नियन्त्रणमा

दाङ । पश्चिम दाङको बबई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बेलुका बबई गाउँपालिका–७ बेलासपुरस्थित बबई नदीमा साथीहरूसँगै माछा मार्ने क्रममा ब्याट्रीबाट प्रवाह गरिएको करेन्ट लाग्दा केसी घाइते भएका थिए।

घाइते केसीलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि सोही समूहसँगै माछा मार्ने क्रममा संलग्न अन्य ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस