राजनीतिक अन्धभक्तिले देशको दाबी नै कमजोर बनाउँदै — खुस्बु ओली

काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरूलाई लक्षित गर्दै व्यक्ति पूजा गर्नमा केन्द्रित भएको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछोड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको बताइन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय सङ्कट उत्पन्न गर्ने जोखिम बढेको छ । यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन ।’

संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्कता सहित भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

उनले थपिन्, ‘आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौहिँरहेका छन् । देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन् तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन र यो सदनको सम्मानित माननीयज्युहरुले त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु ।’

उनले नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने प्रवृत्ति खतरनाक हुने बताइन् ।

ओलीले भनिन्, ‘एकदिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको यहाँहरूलाई स्मरण पनि रहँदैन । त्यसैले मैले सम्पूर्ण सदनलाई भन्न चाहेँ ।’

प्रतिक्रिया दिनुहोस