घण्टीको राजनीति र आगोको संस्कार : नयाँ भनिएको शक्ति किन पुरानै अराजकतामा?

दाङ । दाङको तुलसीपुरमा देखिएको झण्डा दहनको दृश्यले फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ—नयाँ राजनीति भन्दै उदाएको शक्ति वास्तवमै नयाँ संस्कार बोकेर आएको हो, कि पुरानै अराजकताका रंगमा रङ्गिएको छ? आफूलाई वैकल्पिक र स्वच्छ राजनीतिक शक्तिको रूपमा प्रस्तुत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी ले व्यवहारमा कस्तो सन्देश दिइरहेको छ? चुनाव नजिकिँदै गर्दा प्रतिद्वन्द्वी दलको झण्डा जलाउने शैली के नयाँ राजनीतिक संस्कृति हो? यदि यही “नयाँपन” हो भने जनताले पुनर्विचार गर्नुपर्ने बेला आएको छ।

राजनीति विचारको प्रतिस्पर्धा हो। कार्यक्रम र एजेन्डाको लडाइँ हो। तर जब विचार कमजोर पर्छ, तब प्रतीक जलाइन्छ। जब तर्क सकिन्छ, तब भीड उक्साइन्छ। तुलसीपुरमा नेकपा एमाले को सूर्य चिन्ह अंकित झण्डा जलाइएको दृश्यले यही संकेत दिएको छ—विचारभन्दा उत्तेजनामा विश्वास गर्ने राजनीति बलियो हुँदैछ। स्वयंलाई “व्यवस्था बदल्ने शक्ति” भन्दै आएका नेताहरूले आफ्ना कार्यकर्तालाई कस्तो सन्देश दिइरहेका छन्? नेतृत्व भनेको भीडलाई भड्काउने होइन, संयम सिकाउने हो। तर नेतृत्व मौन बस्दा कार्यकर्ता सडकमा आगो बाल्छन् भने त्यो मौनताले नै धेरै कुरा बोलिरहेको हुन्छ। जनताले प्रश्न गर्न थालेका छन्—यदि प्रतिपक्षमा हुँदा यस्तो शैली अपनाइन्छ भने सत्तामा पुगेपछि कस्तो व्यवहार देखिएला? लोकतन्त्रमा असहमति स्वाभाविक हो, तर असहमति व्यक्त गर्ने तरिका नै लोकतान्त्रिक हुनुपर्छ।

घण्टी बजाउँदै आएको राजनीतिक शक्ति यदि आगोको भाषामा बोल्न थाल्छ भने त्यो घण्टी चेतावनीको हो कि अराजकताका संकेतको? दाङले विगतमा पनि राजनीतिक तनावको मूल्य चुकाइसकेको छ। अब फेरि त्यही गल्ती दोहोर्‍याउने छुट कसैलाई छैन। निर्वाचन शान्तिपूर्ण, भयरहित र विचारकेन्द्रित हुनुपर्छ।

राजनीतिमा बहादुरी झण्डा जलाएर देखाइँदैन—बहादुरी त बहसमा जितेर देखाइन्छ। यससँगै निर्वाचन आचारसंहिताविपरीत यस्ता गतिविधि गर्ने जो–कोहीमाथि कडा कारबाही हुनुपर्छ। निर्वाचन आयोग को गम्भीर ध्यानाकर्षण आवश्यक छ। कानून सबैका लागि समान हुनुपर्छ—नत्र अराजकता नै नियम बन्छ। यदि साँच्चै नयाँ राजनीति चाहिएको हो भने नयाँ संस्कार पनि देखिनुपर्छ। अन्यथा “नयाँ” भन्ने शब्द केवल नारामै सीमित हुनेछ।

प्रतिक्रिया दिनुहोस