युवा साहित्यकार ‘स्मारिका’को पहिलो उपन्यास ‘ब्लुम’ विमोचन हुँदै

दाङ । घोराही उपमहानगरपालिका–७ सौडियार निवासी युवा साहित्यकार तथा पत्रकार ‘स्मारिका’द्वारा लिखित पहिलो उपन्यास ‘ब्लुम’ विमोचन हुने भएको छ। बीएन पुस्तक प्रकाशनद्वारा प्रकाशित उपन्यासको असोज १७ गते शनिबार घोराहीस्थित मालाइनमा दिउँसो १ बजे विमोचन कार्यक्रम आयोजना गरिएको हो।


प्रेम, त्याग, समर्पण र सङ्घर्षलाई मुख्य विषयवस्तु बनाइएको ‘ब्लुम’ले विशेषगरी नयाँ पुस्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। युवापुस्ताको भावना, सम्बन्ध, जीवनका उतारचढाव तथा सङ्घर्षलाई साहित्यिक ढङ्गबाट प्रस्तुत गरिएको उपन्यास पाठकका लागि रुचिकर हुने लेखक स्मारिकाको विश्वास छ।


२३ वर्षीया स्मारिका हाल वैदेशिक अध्ययनका क्रममा छिन्। उनले बिदेशमा आईटी इन्जिनियरिङ अध्ययन गरिरहेकी छन्। पहिलो उपन्यास प्रकाशनका लागि उनी बिदेशबाट आफ्नो गृहजिल्ला दाङ आएकी हुन्। साहित्यिक लेखन आफ्नो पहिलो रोजाइको विषय भएको बताउने स्मारिका साहित्यिक सिर्जनामा डुब्दा जीवनको वास्तविक अर्थ अनुभूति गर्न सकिने धारणा राख्छिन्।


स्मारिकाले जिल्लामा रहँदा पत्रकारितासमेत गर्दै आएकी थिइन्। उनले गणतन्त्र राष्ट्रिय दैनिकसहित विभिन्न अनलाइन सञ्चारमाध्यममा जिम्मेवार पदमा रहेर काम गरेकी छन्। पत्रकारितासँगै साहित्यिक सिर्जनालाई निरन्तरता दिँदै आएकी स्मारिका अहिले बिदेशमै बसेर अर्को उपन्याससमेत लेखिरहेकी छन्।


‘ब्लुम’ आफ्नो साहित्यिक यात्राको पहिलो कृति भएकाले पनि आफूका लागि विशेष रहेको स्मारिकाले बताएकी छन्। उनले उपन्यास विमोचन कार्यक्रममा साहित्य, पत्रकारिता, शिक्षा तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तित्व, पाठक र शुभेच्छुकलाई उपस्थित भइदिन आग्रह गरेकी छन्।
उपन्यासका प्रकाशक बीएन पुस्तक प्रकाशनका सञ्चालक सूर्य बिसीले ‘ब्लुम’ गहन तथा सन्देशमूलक कृति भएकै कारण प्रकाशन गरिएको बताए। उपन्यासले समाज र पाठकमा विशेष प्रभाव छोड्ने विश्वास व्यक्त गर्दै उनले विमोचन कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन्।


युवा पुस्ताबाट साहित्यिक क्षेत्रमा नयाँ सिर्जना आउनु सकारात्मक भएको बताउँदै साहित्यकार तथा पाठकहरूले पनि ‘ब्लुम’ले नेपाली युवा साहित्यमा नयाँ बहस र सम्भावना सिर्जना गर्ने अपेक्षा गरेका छन्। बिदेशमा अध्ययनसँगै साहित्यिक लेखनलाई अघि बढाइरहेकी स्मारिकाको पहिलो उपन्यासका रूपमा ‘ब्लुम’को विमोचनलाई दाङको साहित्यिक क्षेत्रमा समेत चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस