लोक दोहोरी स्टार–२ मा घोराही–९ का राजमान खत्री उत्कृष्ट २४ मा

उमेरले रोक्न नसकेको लोकगीतप्रतिको रहर, निरन्तरको प्रयास र मेहनतले घोराहीका राजमानलाई पुर्‍यायो ‘लोक दोहोरी स्टार’को उत्कृष्ट २४ मा

नेपालगन्ज । नेपालको मौलिक लोक सांगीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ मा दाङको घोराही उपमहानगरपालिका–९ का राजमान खत्री उत्कृष्ट २४ मा छनोट भएका छन्।

लोक तथा दोहोरी गीतमा विशेष रुचि राख्ने खत्रीले नेपाली मौलिक शब्द, भाव र सांगीतिक परम्परालाई आत्मसात् गर्दै आफ्नो प्रस्तुति दिँदै आएका छन्। उनी विभिन्न जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरमा आयोजना हुने लोक तथा दोहोरी गीतसम्बन्धी प्रतियोगितामा समेत सहभागी हुँदै आएका छन्। निरन्तरको अभ्यास, अनुभव र प्रस्तुतिका कारण खत्रीलाई दोहोरीका अब्बल खेलाडीका रूपमा समेत चिनिने गरिन्छ।

नेपालगन्जमा सम्पन्न क्षेत्रीय अडिसन पार गर्दै काठमाडौंको डिजिटल अडिसनमा स्थान बनाएका खत्रीले त्यसपछि उत्कृष्ट ४० को प्रतिस्पर्धा पार गरेका थिए। मेघा अर्थात् युगल राउण्ड समेत सफलतापूर्वक पार गरेपछि उनी उत्कृष्ट २४ मा पुग्न सफल भएका हुन्।

सानैदेखि लोकगीत मन पराउँदै आएका खत्रीको ठूलो सांगीतिक स्टेजमा उभिएर गाउने सपना ‘लोक दोहोरी स्टार’को यात्रामार्फत पूरा हुँदै गएको छ।

“लोकगीत–संगीतप्रति मेरो सानैदेखि नै विशेष रुचि थियो। यही क्षेत्रमा केही गर्ने र एकदिन ठूलो स्टेजमा उभिएर गाउने मेरो ठूलो चाहना थियो। अहिले उत्कृष्ट २४ सम्म आइपुग्दा त्यो सपना पूरा हुँदै गएको महसुस गरेको छु,” खत्रीले भने।

उनले आफूलाई यहाँसम्म ल्याउन दर्शक तथा शुभेच्छुकबाट प्राप्त माया र साथलाई आगामी यात्राको हौसला भएको बताएका छन्। “यहाँसम्म आइपुग्दा पाएको माया र साथका लागि आभारी छु। आगामी दिनमा पनि यस्तै माया, साथ र आशीर्वाद पाइरहने आशा गरेको छु। अझ मेहनत गरेर राम्रो प्रस्तुति दिने प्रयास गर्नेछु,” उनले भने।

‘लोक दोहोरी स्टार सिजन–२’ हरेक आइतबार र सोमबार साँझ ८ बजेदेखि ९ बजेसम्म AP1 HD TV बाट प्रसारण हुँदै आएको छ। कार्यक्रम Aventoz Digital Official युट्युब च्यानलबाट समेत हेर्न सकिनेछ।

“हर प्रयास गरेँ, तर रहर मरेन। उमेरले पनि छेकेन, तर फरक भने हुने रहेछ अनुभव।” खत्रीको यो भनाइ उनको लोकसंगीतप्रतिको निरन्तर लगाव, अनुभव र सांगीतिक यात्राप्रतिको दृढताको प्रतिबिम्ब बनेको छ।

प्रतिक्रिया दिनुहोस