दाङ । दाङको तुलसीपुरमा आयोजित तेस्रो ललित स्मृति कप खुला भलिबल प्रतियोगिताको उपाधि हेलो मोबाइल तुलसीपुरले जितेको छ। फेलोसिप ट्रेनिङ सेन्टरको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित फेलोसिप खेलमैदानमा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा हेलो मोबाइलले तुलसीपुर–७ लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो।
फाइनल खेल सुरुदेखि नै रोमाञ्चक बनेको थियो। पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको हेलो मोबाइलले दोस्रो सेटमा कडा प्रतिस्पर्धा खेप्दै २६–२४ को संघर्षपूर्ण जित निकाल्यो। तेस्रो सेट २५–१६ ले जित्दै खेल आफ्नो पकडमा राखेको हेलो मोबाइलले चौथो सेट २५–११ ले जित्दै समग्रमा ३–१ को सेटमा जित सुनिश्चित गर्यो। उत्कृष्ट टिम समन्वय, सशक्त ब्लक र आक्रामक स्पाइक हेलो मोबाइलको जितको मुख्य आधार बनेको थियो।
उपाधिसँगै विजेता टोलीले नगद ५० हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्यो।
प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको तुलसीपुर–७ उपविजेतामा सीमित रहँदै नगद २५ हजार रुपैयाँ, उपविजेता कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो। प्रतियोगितामा टिम कटप्पा घोराही तेस्रो स्थान हासिल गर्न सफल भयो।
माघ २९ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रबाट १३ टिमको सहभागिता रहेको थियो। समूह चरणदेखि नै प्रतिस्पर्धात्मक खेलहरू देखिएको प्रतियोगिता फाइनलसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थितिले थप उत्साह थपेको थियो। स्थानीय खेलप्रेमी, अभिभावक तथा युवाहरूको सहभागिताले खेलमैदान दिनभर उत्साहमय बनेको थियो।
समापन तथा पुरस्कार वितरण समारोह आयोजक संस्थाका सञ्चालक राजु यरिको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने तुलसीपुर उपमहानगरपालिका–७ का वडा सदस्य मानबहादुर राना विशिष्ट अतिथि रहनुभएको थियो।
त्यस अवसरमा प्रमुख अतिथि हमालले खेलकुदले युवालाई अनुशासित र सकारात्मक बाटोमा अघि बढाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विशिष्ट अतिथि रानाले नगर क्षेत्रमा खेल पूर्वाधार विकासमा आफूहरू प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल शिक्षक संघ तुलसीपुर नगर अध्यक्ष घनश्याम डाँगी, तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका सल्लाहकार गोरख वली, खेलप्रेमी केशवराज खत्री, चिन्तामणि भट्टराई, नवराज भण्डारीलगायतले विजेता, उपविजेता तथा तेस्रो हुने टिम र खेलाडीलाई नगद, कप, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
व्यक्तिगत विधातर्फ हेलो मोबाइलका जर्सी नं. ६ का दर्शन गुरुङ ‘बेस्ट प्लेयर’ घोषित भए। त्यस्तै तुलसीपुर–७ का जर्सी नं. ११ का दिनेश भण्डारी ‘बेस्ट स्पाइकर’, टिम कटप्पा घोराहीका जर्सी नं. २ का विकास गिरी ‘बेस्ट ब्लकर’, हेलो मोबाइलका जर्सी नं. ७ का विवश खड्का ‘बेस्ट सेटर’, जर्सी नं. २ का सचिन गाहामगर ‘बेस्ट सर्भर’ तथा जर्सी नं. १२ का भरत वली ‘बेस्ट लिबेरो’ घोषित भई ट्रफी प्राप्त गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको नाम घोषणा गर्दा दर्शकदीर्घाबाट ठूलो तालिका र उत्साह व्यक्त गरिएको थियो।
कार्यक्रमको सञ्चालन जिल्ला भलिबल संघ दाङका महासचिव लक्ष्मण बस्नेतले गर्नुभएको थियो। आयोजकले प्रतियोगिताले स्थानीय स्तरमा भलिबल खेलको विकास, युवा प्रतिभाको पहिचान र खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरेको छ।