रेडियो स्टुडियोमै पत्रकारमाथि आक्रमण, एक युवक पक्राउ

दाङ । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले एक युवकलाई पत्रकारमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनी निवासी सिएनटी प्रेसका सागर सुवेदी रहेका छन्।

प्रहरीका अनुसार आज दिउँसो करिब साढे ४ बजे सुवेदीले रेडियो प्रकृति एफएमको स्टुडियोमै प्रवेश गरी न्युज डेस्क प्रमुख चेतन वलीमाथि एक्कासी आक्रमण गरेका थिए। स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतका अनुसार वली समाचार तयारीमा व्यस्त रहेका बेला बाहिरबाट ढोका ढकढक्याएपछि खोल्नेबित्तिकै उनीमाथि आक्रमण गरिएको हो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले रेडियो प्रकृति एफएमकै दोस्रो तलाबाट सुवेदीलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाप्रति कडा निन्दा, दोषीमाथि कारबाहीको माग

घटनाप्रति रेडियो प्रकृति एफएमले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। सञ्चालक समितिका अध्यक्ष नारायण खनालद्वारा जारी विज्ञप्तिमा समाचार निर्माणमा संलग्न पत्रकारमाथि गरिएको आक्रमणलाई केवल व्यक्तिगत घटना नभई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहारका रूपमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा स्टुडियो जस्तो सुरक्षित र संवेदनशील कार्यस्थलमै भएको यस्तो घटना निन्दनीय र अस्वीकार्य भएको जनाइएको छ। साथै, सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, यस्ता घटनाको पुनरावृत्ति रोक्न र स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ।

रेडियो प्रकृति एफएमले आफू सधैं निष्पक्ष, निर्भीक र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस