अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै १ हजार ६३२ जनशक्ति उद्धार सामग्रीसहित तयारी अवस्थामा
बाँके । लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना देखिएपछि सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने सम्भावित विपद्को प्रतिकार्यका लागि १ हजार ६३२ जना जनशक्तिलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म नेपालमा अति भारी वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा आवश्यक तयारी गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयका अनुसार प्रदेशका जोखिमयुक्त स्थान पहिचान गरी बाढी, पहिरो तथा डुबानको अवस्था सिर्जना भए तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुन सक्ने गरी जनशक्ति र उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ।
बाहिनी मुख्यालयका अनुसार पश्चिम नवलपरासीमा ७५, रुपन्देहीमा १२०, कपिलवस्तुमा २२०, दाङमा ७१, बाँकेमा २६१, बर्दियामा ५८१, पाल्पामा ५१, अर्घाखाँचीमा ३०, गुल्मीमा ५८, प्युठानमा ४०, रोल्पामा ३० र रुकुममा १६ जना सशस्त्र प्रहरीलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ।
सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै तराईका जिल्लामा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम भएका स्थानमा विशेष निगरानी बढाइएको छ। आवश्यक परे तत्काल सम्बन्धित क्षेत्रमा जनशक्ति परिचालन गरी उद्धार तथा राहत कार्य सञ्चालन गर्ने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
अति भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले सशस्त्र प्रहरीलाई उच्च सतर्कतामा राखिएको हो।
सशस्त्र प्रहरीले विपद्को अवस्था उत्पन्न भएमा स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने गरी तयारी गरेको जनाएको छ।