अवैध आयातमा लगाम, पहाडी तरकारीले पायो नेपालगन्जको बजार

नेपालगन्ज — सीमा नाकाबाट हुने तरकारीको अवैध आयातमा कडाइ गरिएपछि नेपालगन्जको रानी तलाउ तरकारी बजारमा स्वदेशी उत्पादनको आपूर्ति बढेको छ। सल्यान, रुकुम, रोल्पा, दाङलगायतका जिल्लाबाट भित्रिने तरकारीले बजारको माग धान्न थालेपछि पहाडी क्षेत्रका किसानले उत्पादन गरेको तरकारीले सहज रूपमा बजार पाउन थालेको व्यवसायीहरूले बताएका छन्।

रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार जेठदेखि मङ्सिरसम्म बजारमा खपत हुने तरकारीमध्ये करिब ८० प्रतिशत छिमेकी पहाडी तथा भित्री मधेसका जिल्लाबाट आउने गरेको छ। बाँकी करिब २० प्रतिशत तरकारी भारतलगायत अन्य क्षेत्रबाट आउने गरेको उहाँले बताउनुभयो।

उहाँका अनुसार हरेक बिहान पहाडी जिल्लाबाट दर्जनौँ मालवाहक गाडीमा गोलभेडा, बन्दा, काउली, भान्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी र काँक्रोलगायतका तरकारी नेपालगन्ज भित्रिने गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष पहाडी जिल्लाबाट आउने तरकारीको परिमाणसमेत बढेको उहाँले बताउनुभयो।

“सीमामा निगरानी कडा हुँदा अवैध आयात नियन्त्रणमा आएको छ। यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाएका छन्,” अध्यक्ष थापा क्षेत्रीले भन्नुभयो।

नेपालगन्जको रानी तलाउ बजार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा तरकारी आपूर्ति गर्ने प्रमुख थोक बजारका रूपमा रहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो।

उहाँले स्वदेशी उत्पादनलाई बजार सुनिश्चित गर्न सीमा क्षेत्रमा हुने अवैध तरकारी आयात नियन्त्रणलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। स्थानीय किसानले उत्पादन गरेको तरकारीले सहज रूपमा बजार पाउने वातावरण बनेमा उत्पादन बढ्नुका साथै किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ।

सीमा क्षेत्रमा निगरानी बढेसँगै सल्यान, रुकुम, रोल्पा, दाङलगायतका जिल्लाबाट नेपालगन्ज आउने तरकारीको आपूर्ति बढेको छ। यसले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै नेपाली किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस