दाङ । दाङको दंगीशरण गाउँपालिका–३ स्थित बीरेन्द्र माध्यमिक विद्यालय हेकुली मा अध्ययन गरी विभिन्न क्षेत्रमा स्थापित भएका पूर्वविद्यार्थीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यसहित पूर्वविद्यार्थी समाजको ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
शनिबार विद्यालय परिसरमा सम्पन्न पूर्वविद्यार्थीहरूको भेलाले विश्वराज पछल्डङ्ग्याको संयोजकत्वमा तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो। समितिको सह–संयोजकमा मस्तबीर चौधरी चयन भएका छन् भने सदस्यहरूमा भूमप्रसाद देवकोटा, लालबहादुर केसी, डिल्लीबहादुर ओली, ईश्वरीकुमारी कँडेल, गीता रेग्मी न्यौपाने, खुसीराम चौधरी, साइतुराम चौधरी, निशु खत्री (निलम) र सिर्जना थापा रहेका छन्।
यसैगरी, विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका यज्ञबहादुर बुढा, दीपक आचार्य र जीवन बस्नेतलाई समितिको सल्लाहकारमा चयन गरिएको छ। उनीहरूको अनुभव र मार्गदर्शनले समाजलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
भेलालाई सम्बोधन गर्दै विद्यालयका पूर्वविद्यार्थी तथा शम्भु गिरी ले आफूलाई शिक्षा दिने विद्यालयप्रति हरेक पूर्वविद्यार्थीको विशेष दायित्व रहने बताए। विद्यालयले सिकाएको ज्ञान, अनुशासन र संस्कारकै जगमा आज धेरै पूर्वविद्यार्थी विभिन्न सरकारी, निजी तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण जिम्मेवारीमा पुग्न सफल भएको उल्लेख गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न पूर्वविद्यार्थी समाजले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।
उनले विद्यालयसँगको सम्बन्ध केवल अध्ययन पूरा गरेसँगै समाप्त नहुने उल्लेख गर्दै पूर्वविद्यार्थीहरूको अनुभव, सीप, ज्ञान र स्रोतलाई विद्यालयको विकासमा उपयोग गर्न सके संस्थागत रूपमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए। पूर्वविद्यार्थी समाजले विद्यालय र पूर्वविद्यार्थीबीच समन्वयको सेतुका रूपमा काम गर्दै शैक्षिक, सामाजिक तथा रचनात्मक गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
नवनिर्वाचित संयोजक विश्वराज पछल्डङ्ग्याले पूर्वविद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालयको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। समाजलाई सक्रिय र प्रभावकारी बनाउँदै शैक्षिक सहयोग, छात्रवृत्ति, वृक्षारोपण, पुस्तकालय सुदृढीकरण, करियर परामर्श, प्रतिभा सम्मान तथा विद्यालयको आवश्यकता अनुसार विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए।
भेलामा सहभागी पूर्वविद्यार्थीहरूले पनि विद्यालयप्रतिको अपनत्वलाई संस्थागत रूपमा अघि बढाउन पूर्वविद्यार्थी समाजको गठन महत्वपूर्ण कदम भएको धारणा राखेका थिए। उनीहरूले आगामी दिनमा समाजको विधान निर्माण, सदस्यता विस्तार तथा नियमित कार्यक्रममार्फत विद्यालयसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेलामा विद्यालयका शिक्षक, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवगठित तदर्थ समितिले छिट्टै कार्ययोजना तयार गरी औपचारिक रूपमा पूर्वविद्यार्थी समाजलाई सक्रिय बनाउने जनाएको छ।