बाँके । पर्याप्त वर्षा नहुँदा बाँकेमा यस वर्ष हालसम्म १८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। सिक्टा सिँचाइ आयोजना र भूमिगत पानी पुगेका केही क्षेत्रमा रोपाइँ भइरहेको भए पनि जिल्लाका अधिकांश किसान अझै आकाशे पानीकै भरमा खेती गर्न बाध्य छन्।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार असारको दोस्रो सातादेखि सुरु भएको धान रोपाइँ शुक्रबारसम्म जिल्लाको कुल धान खेती हुने क्षेत्रफलको १८ प्रतिशतमा मात्र सम्पन्न भएको छ।
उनका अनुसार पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्। हाल रोपाइँ भइरहेका अधिकांश खेतमा सिक्टा सिँचाइ आयोजनाको नहर वा भूमिगत पानीको प्रयोग गरिएको छ।
सूचना अधिकारी शर्माले मसिनो र मध्यम जातका धान लगाउने किसानलाई वर्षा ढिलाइले बढी असर गरेको बताइन्। मोटो जातको धान भने केही ढिलो रोप्दा पनि उत्पादनमा खासै असर नपर्ने उनको भनाइ छ।
बाँकेमा कुल ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।
सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइ सुविधा पुगेकाले ती क्षेत्रमा रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहका अनुसार रोपाइँको समयलाई मध्यनजर गर्दै आयोजनाको पूर्वी र पश्चिमी दुवै मुख्य नहरमा नियमित रूपमा पानी छोडिएको छ। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा निर्माण गरिएको बाँधमार्फत सञ्चालन भइरहेको आयोजनाले बाँकेका ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ।
हालसम्म आयोजनाबाट करिब २४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भइसकेको छ। तर बाँकी क्षेत्र अझै वर्षाको भरमा रहेकाले किसान पर्याप्त वर्षाको प्रतीक्षामा छन्।