असीम साहमाथि अमरेश सिंहको प्रश्न : ‘हु इज असीम साह ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद अमरेश कुमारले सरकारले संविधान संशोधनका लागि गरिरहेको गृहकार्यमाथि धावा बोलेका छन् । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहप्रति उनी व्यक्तिगतरुपमा खनिए र गैरराजनीतिक टिप्पणीहरू गरे ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले संविधान संशोधन हुनै नसक्ने ठोकुवा गरेका थिए । २०७२ सालको संविधानमा कुनै खोट नरहेको दाबी गर्दै उनले यसलाई संशोधन गर्ने क्षमता कुनै व्यक्तिमा नरहेको बताए । सँगसँगै उनले यो व्यवस्था नै जान लागेको भविष्यवाणीसमेत गरेका छन् ।

कार्यक्रममा सिंहले भने, ‘यो संविधान संशोधन हुनेवाला छैन । बरु व्यवस्था जाँदैछ । व्यवस्था बचाउन मन छ भने, लोकतन्त्र बचाउन छ भने तपाईँहरू छलफल गर्दा उचित हुन्छ ।

सिंहको भनाइ उनकै शब्दमा:

कुन देशको संविधान संशोधन भइरहेको छ ? कहाँ भइरहेको छ ? यो मेरो प्रश्न हो किनकि म अथोरिटीको साथ बोल्दैछु । म एउटा ल मेकर हो, मेरो अथोरिटी अन्तर्गत पर्छ यो संविधान संशोधन ।

मैले यो बुझिन कि कहाँको संविधान संशोधन हुन्छ ? कसले गर्छ ? प्रक्रिया के ? राजनीतिक रूपले बुझ्दा, संविधान संशोधन हुनेवाला पनि छैन र हुँदैन । यो देशको संविधान संशोधन हुँदैन । अर्को देशको कुरा हो भने बीबीसी र सीएनएनमा पनि सुन्न पाइएन । मेरो सिग्नेचरबिना त यहाँ संशोधन हुँदैन । मेरो जति (दुई तिहाई बहुमत) चाहियो नि, त्यति दुइटै हाउसमा चाहियो । प्रदेशलाई केही गर्नु छ भने प्रदेशको पनि सहमति चाहियो ।

हु इज द असीम साह ? कुन प्रदेशमा असीम साहको सरकार छ ? ल मेकर पनि छैन । उसले के गर्न सक्छ ? बढीमा बालेनको कानमा फुसफुस गर्न सक्छ । संसदमा उठाउने अधिकार छैन । प्रस्ताव पनि गर्न सक्दैन नि । ऊ संसद भए त प्राइभेट बिल पनि दर्ता गर्थ्यो होला । त्यो पनि छैन बिचरा ।

संविधान संशोधन हाम्रो संविधानले ग्यारेन्टी गरेको छ, दुई तिहाइले हुन्छ । यो कुनै आयोगबाट बनेको संविधान होइन, संविधान सभाबाट बनेको संविधान हो ।

दोस्रो कुरा, संविधानमा प्रोब्लम छैन, प्रोब्लम नियतमा छ । नेतामा छ । त्यहाँ टीकाटिप्पणी गर्ने तपाईँहरूको चान्स नै छैन, किनकि तपाईँ–हामी चाकर हो । कि त्यहाँ कोटाबाट मन्त्री बन्न पाइन्छ, सांसद बन्न पाउँछ, राजनीतिक नियुक्ति पाउन पाइन्छ, महान्यायाधिवक्ता बन्न पाइन्छ, न्यायाधीश बन्न पाइन्छ ।

संविधानको संरचनामा पनि खोट थिएन । खोट गिरिजाप्रसाद कोइराला र भट्टराईजीको झगडामा थियो, जो तीनै वर्षमा भयो र २०५१ मा डिजल्भ भयो । संविधानमा खोट २०४७ मा पनि थिएन । खोट शेरबहादुरमा थियो कि राजालाई बुझाइदियो ।

संविधानमा खोट थिएन, आफू शासक बन्ने । संविधानमा २०७२ सालको संविधानमा पनि थिएन । खोट केपी ओलीमा थियो कि दुईचोटी विघटन गरिदियो । संविधानले हात बाँधेको छैन, आफ्नो मान्छे राखेर देश चलाउन खोज्यो । सक्षम मान्छे होइन । प्रधानमन्त्री बोलाएर भन्छ, ‘यसलाई मुद्दा लगाऊ, यसलाई नलगाऊ ।’ जो बोल्यो त्यसलाई मुद्दा लगाऊ– सम्पत्ति शुद्धीकरण कि अख्तियार । यस्तो मलाई थाहा थिएन । म पनि त हेरिरहेको छु । तर म त अडिग भएर बोल्छु, जो परे पनि देखा जाएगा ।

यो व्यवस्था जाँदैछ, म तपाईँलाई पूर्वसन्ध्यामा भन्दैछु । ६ महिनामा जाला, सालभरमा जाला, यो व्यवस्था जाँदैछ । यो संविधान रहँदैन, यो व्यवस्था रहँदैन । त्यो म मान्न तयार छु एज अ पोलिटिकल साइन्स स्टुडेन्ट, एज अ पोलिटिसियन पनि । म पोलिटिसियन पनि हो, म दाबा गर्छु किनकि जनताले जिताएर पठाउँछ भने पोलिटिसियन त बन्नै पर्यो ।

तर संविधान संशोधन हुँदैन । यो क्षमता नेपालको कुनै व्यक्तिमा छैन, यो कम्पोजिसनमा एउटा कुरा क्लियर हो । त्यसकारणले यो संशोधनको डिबेट मलाई पचेन । अरू साथीहरूलाई पच्यो होला, माननीय मन्त्रीजी पनि हुनुहुन्थ्यो, श्रीमान् सर्वोच्च अदालतको न्यायाधीश पनि हुनुहुन्थ्यो, उहाँलाई पच्यो बेग्लै कुरा हो । त मैले उहाँलाई खुसुक्क सोधेँ कि प्रदेशको पनि केही अधिकार छ कि ? मैले त पढेको छु कि प्रदेशलाई पनि छ, चेन्ज गर्दाखेरि उसको पनि अनुमोदन चाहिन्छ ।

राष्ट्रिय सभाको पनि केही औचित्य छ । एउटा कुरा के हो भने मेन इस्युबाट डाइभर्ट गर्नलाई यो संविधानको इस्यु राखेको छ । त्यो पनि नन–इन्टिटीलाई बनाएको छ । यो नेपाल के हो भने अघिल्लोको पछाडि दौडिने । त्यसकारणले असीम साहको फेरि पछाडि दौडिरहेको छ । त्यो त कोही पनि होइन । को हो ? हु इज द असीम साह? ल मेकर पनि होइन । न त प्रदेशमा छ, न त कतै पार्टीमा छ, कतै पनि छैन । र नन–इन्टिटीलाई लिएर यो इस्यु बनाएको छ किनकि मान्छेलाई मेन इस्युबाट डाइभर्ट गर्नु छ ।

त्यहाँ व्यापारी पनि गएछ, कर्मचारी पनि गएछ, नेता पनि गएछ । मलाई त देखेर दया लाग्छ कि यिनीहरूको के हैसियत, के विचारले गइरहेको छ । यो कुन प्रक्रियाबाट कसले संविधान संशोधन गर्छ ? कहाँबाट हुन्छ ? खुल्ला खेलमैदानमा हुन्छ कि यहाँ महलमा हुन्छ कि संसद भवनबाट हुन्छ ?

मैले भन्न खोजेको यो संविधान संशोधनको डिबेट मलाई पचेन, यसमा केही कमेन्ट गर्दिन । म एक लाइन मात्र कमेन्ट गर्नलाई उठेको हो– यो संविधान संशोधन हुनेवाला छैन । बरु व्यवस्था जाँदैछ, बचाउनु मन छ भने, लोकतन्त्र बचाउनु छ भने तपाईँहरू छलफल गर्दा उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस